२२ जेठ २०८३, शुक्रबार

'जोखिम मोलेर उडान गर्दा मन्त्री सवार हेलिकप्टर दुर्घटना', घुम्न कर्मचारीलाई तलब

फागुन १६, २०७५
'जोखिम मोलेर उडान गर्दा मन्त्री सवार हेलिकप्टर दुर्घटना', घुम्न कर्मचारीलाई तलब

काठमाडौं– क्याप्टेन प्रभाकर केसीले खराब मौसम हुँदाहुँदै दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि अर्को हुने धेरै कमजोरीबाट दुर्घटना हुन्छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने ।

‘दुर्घटना हुनुअघि मौसम खराब थियो भन्ने त थाहा भएकै विषय भयो । त्यसमा पनि पर्यटनमन्त्री, हेलिकप्टर मालिक, उड्डयन प्राधिकरणका पदाधिकारी रहेको उडानमा जोखिम हुँदाहुँदै पनि पाइलटले भन्न नसकेका हुन सक्छन् । मन्त्री र हेलिकप्टर मालिक हुँदाहुँदै जोखिम लिएर उडेको हुनसक्छ,’ उनले भने । निगमका निकाय, एयरलाइन्सका मालिक र मन्त्री भएकाले सानोतिनो जोखिम टार्न सकिन्छ भनेर लिएको जोखिमले ठूलो दुर्घटना भएको अनुमान मानन्धरको छ ।

दुर्घटनामा परेको हेलिकप्टर १२ हजार ४४८ फिट उचाइमा ७ जना यात्रु बोकेर उडेको थियो । मानन्धरका अनुसार जाँदा तौल बढी भए पनि फर्किएर तेल खपत भइसकेकाले तौलका कारण जोखिम कम भएको हुनुपर्छ । तर त्यो अल्टिच्युडमा यात्रु बोक्नु र नियम केलाउने हो भने १० हजार फिटमाथि उड्दा अक्सिजन लगाउनुपर्ने नियम पनि पालना भयो कि भएन भनेर पनि हेर्नुपर्ने मानन्धर बताउँछन् । 

प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दली दुर्घटनालाई इतिहासभन्दा फरक रूपमा हेर्नुपर्ने बताउँछन् । उनले भने, ‘साधारण मान्छेले बुझ्ने त मौसम हो । तर विस्तृत विवरण अनुसन्धानबाटै आउँछ ।’ पाइलटले कसैले दबाब दिँदैमा ज्यानै जाने गरी जोखिम लियो भनेर भन्न नसकिने उनले बताए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

हेलिकप्टर दुर्घटनाः सरकारबाट दुःख व्यक्त
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा सवार सबै जनाको निधनप्रति दुःख व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले उक्त दुःखद् घटना भएकामा  फागुन १६ गते  राष्ट्रिय शोकको दिन घोषणा गर्ने निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए । 

मन्त्री अधिकारीको नेतृत्वमा पर्यटन व्यवसायी यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, हेलिकप्टर चालक प्रभाकर केसीसमेतको टोली तेह्रथुमको चुहानडाँडालगायत पूर्वाञ्चल क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन एवं स्थलगत निरीक्षणका लागि त्यसतर्फ गएकामा उनीहरू सवार एयर डायनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

अकल्पनीय, अप्रत्याशित र दुःखद् सो घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति भएको जनाउँदै सरकारले यस घडीमा अत्यन्तै गहिरो दुःख र शोक व्यक्त गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेको छ । बैठकले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति पनि प्रकट गरेको छ । 

सार्वजनिक बिदा
सरकारले बिहीबार स्वदेशस्थित सम्पूर्ण सरकारी सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित राजदूतावास तथा नियोगलाई सार्वजनिक बिदा दिनाका साथै सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले दिवङ्गतको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने र यसका लागि सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले दुर्घटनाका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेश गर्न पूर्वसचिव यज्ञप्रसाद गौतम अध्यक्ष रहनुभएको चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आयोगका सदस्यमा सहायकरथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र सदस्य सचिवमा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहेका छन् । 

त्यस क्षेत्रमा विमानस्थल निर्माणका सम्बन्धमा जनप्रतिनिधि, विभिन्न निकायका पदाधिकारी एवं स्थानीय सरोकार पक्षसँग अन्तक्र्रियापछि सम्भाव्य स्थानको स्थलगत निरीक्षण गरी काठमाडौँ फर्र्कंने क्रममा पाथीभरा मन्दिरको पश्चिमतर्फ फुङ्लिङ नगरपालिका वडा नं १० मा पर्ने फुरुम्बु दारेढुङ्गा, सिस्नेभीर क्षेत्रमा अपराह्न १२ः४० बजे हेलिकप्टर दुर्घटनामा परेको जनाइएको छ ।

‘वार्ताबाट भारत–पाकिस्तान तनाव अन्त्य हुनुपर्छ ’
सरकारले भारत र पाकिस्तानबीचको तनाब वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिएको छ । यही फागुन २ गते जम्मुकाश्मिर राज्यको पुलवामा सुरक्षाफौजमाथि भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावले नेपाल सरकारलाई चिन्तित तुल्याएको बताउँदै परराष्ट्र मन्त्रालयले शान्तिपूर्ण माध्यमबाट परिस्थितिलाई सामान्य बनाउन आग्रह गरेको छ । 

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षका नाताले नेपाल दक्षिण एशियामा शान्ति र स्थायित्व कायम हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै उक्त मन्त्रालयले जारी गरेको वक्तव्यमा दुवै पक्षलाई अत्यधिक संयमित हुन आग्रह गरेको छ । दक्षिण एशियाको शान्ति र सुरक्षामा जोखिम हुने कुनै किसिमका गतिविधिमा संलग्न नहुन पनि सरकारले भारत र पाकिस्तानसँग अनुरोध गरेको छ । फागुन २ गतेको आतङ्कवादी आक्रमणको नेपाल सरकारले कडा शब्दमा निन्दा गरेको थियो ।

कर्मचारीलाई घुम्न एक महिनाको तलब
प्रदेश ३ सरकारले आफ्नो मातहतमा रहेका कर्मचारीलाई घुम्नका लागि एक महिनाको तलब उपलब्ध गराएको छ । आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रदेश सरकारले रकम उपलब्ध गराएको हो । 

प्रदेश ३को राजधानीबाहेकका स्थानमा कर्मचारीले कम्तीमा पाँच दिन भ्रमण गर्नैपर्ने नियम सरकारले बनाएको छ । भ्रमण गरेको तस्विर र प्रतिवेदन सम्बन्धित कर्मचारीले पेश गर्नुपर्ने प्रावधान छ । गत असार १ सम्म प्रदेश मातहतमा रहेका कर्मचारीलाई एक महिनाको तलब उपलब्ध गराइएको हो ।

हालसम्म प्रदेश मातहतका १५६ जना निजामती कर्मचारीले रकम लिएर आन्तरिक भ्रमण गरिसकेका छन् ।  ‘एक मिहनाको तलब लिएर घर बस्न पाइँदैन’, मुख्यमन्त्री कार्यालयका सचिव रमेश सिवाकोटीले भने, ‘भ्रमण गरेको, तस्विर र प्रतिवेदन नबुझाएसम्म पेस्की नबुझाएसम्म पेस्की फर्छ्योट हुँदैन ।’, कान्तिपुरमा खबर छ । 

विकास निर्माणमा देखिएका नीतिगत झन्झट हटाउनुपर्ने निष्कर्ष
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सार्वजनिक विकास निर्माणका सम्बन्धमा देखिएका कानूनी तथा नीतिगत झन्झट हटाउन थप सक्रिय भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । हालसम्मको कार्य समीक्षा र भावी योजनाका बारेमा छलफल गर्न बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सहभागी सांसदले सार्वजनिक खरीद ऐनमा भएका कतिपय प्रावधानले विकास निर्माणका कार्यमा बाधा व्यवधान सिर्जना गरेको जिकिर गरेका थिए । उनीहरूले समयानुकूल नीतिनियम परिमार्जन गर्न र खरीद ऐनलाई सरलीकृत गर्नुपर्नेमा जोड दिएका थिए । 

मन्दिरको ज्वाला निभ्यो
कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष  गौरीनन्द आचार्यले जानकारी दिए । 

उनका अनुसार मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने मान्यता छ । “उल्टो हावा लाग्यो, भुमरीमा हिउँ परेको थियो, ज्वाला निभेपछि मात्रै थाहा भयो”, आचार्यले भने । पुजारी रमेश न्यौपानेले पूजा गर्ने समय तथा हिमपात र हावा एकैसाथ लागेपछि ज्वाला निभेको बताए ।

उनका अनुसार ज्वाला ल्याउन दैलेख जिल्लाको शिरस्थानमा जानुपर्छ । गुठी समितिका कार्यवाहक अध्यक्ष हस्तबहादुर थापासहितको टोली ज्वाला ल्याउनका लागि दैलेख जाने भएको छ । यसअघि विसं २०७० मा चन्दननाथ मन्दिरमा मूर्ति चोरी भएपछि संयोगले ज्वाला निभेको थियो । 

सन्दीपको उत्कृष्ट बलिङ 
नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले पाकिस्तान सुपर लिग (पिपिएल)मा उत्कृष्ट बलिङ गरेका छन् । लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले बुधबारको खेलमा क्वेउटा ग्लाडिएटर्स क्लबविरुद्ध चार विकेट लिएका छन् । 

टी–२० खेलमा उनको अहिलेसम्मकै उत्कृष्ट बलिङ हो । सन्दीपले चार ओभरमा १० रन मात्र खर्चिए । उनको १५ बलमा विपक्षी खेलाडीले कुनै रन लिन सकेनन् । सन्दीपको बलमा विपक्षीले छक्का र चौकासमेत प्रहार गर्न सकेनन् । यसअघि उनले टी–२० प्रतियोगितामा चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिएका थिए । 

खेलमा सन्दीपले पहिलो विकेटका रूपमा ग्लाडिएटर्सका ओपनर सेन वाट्सनलाई चौथो ओभरमा सात रनमा एलबिडब्लूको धरापमा पारेका थिए । छैटौँ ओभरको पहिलो बलमा सन्दीपले रोली रस्सोलाई पवेलिन फर्काए । त्यही ओभरको अन्तिम बलमा उनले उमर अकबललाई एक रनमा आउट गरेका थिए । सन्दीपले चौथो विकेट डानिस एजाजको लिएका थिए । 

आहा रारा गोल्डकपः थ्री स्टार फाइनलमा
साविक उपविजेता थ्री स्टार क्लब पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सेमिफाइनलमा सशस्त्र प्रहरीको ‘एपिएफ क्लब’लाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरी थ्री स्टार उपाधि नजिक पुगेको हो । 

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खराब मौसमका कारण खेल अतिरिक्त समयमा नखेलाई सिधै पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो । प्रतियोगिताको अर्को  सेमिफाइनल खेल बिहीबार नेपाली सेनाको त्रिभुवन आर्मी र क्यामरुनको डफिन्स एफसीबीच हुनेछ । 

सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतेदेखि जारी प्रतियोगिताको फाइनल खेल यही फागुन १८ गते हुने आयोजकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्