
काठमाडौं -हेलिकप्टर दुर्घटनाका मृतकहरूलाई श्रद्धाञ्जलि दिनका लागि टुँडिखेलमा आज हुने भनिएको श्रद्धाञ्जलि सभा शुक्रवार मात्र हुने भएको छ ।
बुधवार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई श्रद्धाञ्जलि दिन टुँडिखेलमा विशेष तयारी भएपनि पोस्टमार्टममा समय लागेपछि कार्यक्रम भोलिका लागि सारिएको हो ।
श्रद्धाञ्जलि सभा शुक्रवार बिहान ८ देखि ११ बजेको बीचमा टुँडिखेलमा हुने नेपाका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जनाएका छन् ।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले पनि श्रद्धाञ्जलि सभा भोलि हुने तय भएको सन्देश ट्वीटरमा लेखेका छन् ।
पाथीभरा दर्शन गरी फर्किने क्रममा भएको दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।