
काठमाडौँ–ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई आज सामूहिक रुपमा श्रद्धाञ्जलि दिन टुँडिखेलमा कार्यक्रम राखिएको छ ।
दुर्घटनामा निधन भएका सबैका शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार नै हुने भनिएपनि शव परीक्षणको जटिलताका कारण श्रद्धाञ्जलि कार्यक्रम आजको लागि सारिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले सातै जनाको शव बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा राखिने जानकारी दिए । श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्ने उनले जानकारी दिए । श्रद्धाञ्जलिपछि शव आफन्तजनलाई जिम्मा दिइने बताइएको छ ।
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।
मन्त्री पुन अस्पताल भर्ना
ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुन अचानक अस्वस्थ भएपछि बिहीबार उपचारार्थ नर्भिक अस्पतालको सीसीयूमा भर्ना भएका छन् ।
मन्त्री पुन अस्पताल भर्ना भएको खबर प्राप्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त अस्पताल पुगेर उनको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए ।
प्रधानमन्त्रीले मन्त्री पुनको उपचारमा हरसम्भव प्रयत्न गर्न चिकित्सकहरूलाई अनुरोध गरेको अस्पतालले जनाएको छ । बिहीबारै मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाल, पूर्वगृहमन्त्री जनार्दन शर्मा, गृहसचिव प्रेमकुमार राई लगायतले पनि जानकारी लिएका छन् । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
प्रदेश प्रमुख मल्ललाई उपचार गर्न भारत लगियो
काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि बिहीबार एयर एम्बुलेन्समार्फत भारत लगिएको छ ।
फागनु पहिलो हप्तादेखि बिरामी भई शिक्षण अस्पतालको आईसियु (सघन उपचार कक्ष)मा उपचाररत् प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार नदेखिएपछि भारतको मेदान्त अस्पताल लगिएको उनका स्वकीय सचिव धनसिंह क्षेत्रीले जानकारी दिए । एकहत्तर वर्षीय प्रदेश प्रमुख मल्ललाई कडा खालको निमोनिया र फोक्सोमा सङ्क्रमण देखिनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ ।
पर्यटन क्षेत्रको विकासमा अधिकारीको महत्वपूर्ण योगदान
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले मुलुकको पर्यटन प्रवद्र्धन र विकासमा थोरै समयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको महत्वपूर्ण योगदान रहेको बताएको छ ।
नाट्टाका अध्यक्ष सिएन पाण्डेले शोक वक्तव्य जारी गरी पर्यटन प्रवद्र्धन र विकासमा थोरै समयमा पर्यटन क्षेत्रमा मन्त्री अधिकारीले अनुभूत गर्नसक्ने परिणाममुखी काम गर्न सफल भएको बताए ।
कैलालीको गोदावरीमा राजधानी अनुपयुक्त
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी कुनै पनि दृष्टिले कैलालीको गोदावरी उपयुक्त हुन नसक्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, “गोदावरीको तेघरी जङ्गल मासेर राजधानी बनाउने कुरा उपयुक्त हुन सक्दैन ।” उनले वर्तमान दुई तिहाईको सरकारले एक वर्षमा कुनै पनि महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाए ।
सार्वजनिक बसमा नयाँ प्रयोग
काठमाडौँ उपत्यकाको सार्वजनिक भन्ने वित्तिकै खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन हौस्याउने चालकलगायतको सम्झना मानसपटलमा आउँछ ।
तर काठमाडौ भक्तपुर रुटमा गाडी चलाउने एउटा यस्ता चालक भेटिए जो चालक नभइ सरसफाइ अभियानकर्मी हुन् कि भन्ने जोकोहीलाई लाग्नसक्छ । काठमाडौँ बागबजार बसपार्कबाट गाडी छुट्न लाग्दा आफ्नो सिटबाटै सानो माइकमा उद्घोष गर्छन्, “यहाँहरुलाई स्वागत छ । सूचना÷प्लेकार्डको सन्देश पढ्नुहोला । गाडीमा पानी, चाउचाउको पनि व्यवस्था छ । पैसा तिरेर किन्न सक्नुहुन्छ । तर फोहोर ढोका नजिकैका डस्टबिनमा राख्नुहोला । धन्यवाद”
यति भन्दै गर्दा यात्रु भित्र पसेपछि गाडीको ढोका आफै बन्द हुन्छ । बसमा सहचालक छैन । हँसिलो मुहार सहितको उनको यो स्वागत तथा जानकारी सुन्दा लाग्छ यो यात्रुलाई विशेष सुविधा सहितको डिलक्स बस हो र कतै कुनै पर्यटकीय क्षेत्रमा घुम्न लाँदैछ । तर तेसो होइन । यो त सामान्य मिनिबस हो –बा ४ ख २७२४ नम्बरको, जुन काठमाडौ बागबजारबाट नयाँबाटो भक्तपुर, क्यान्सर हस्पिटलहुदै ब्यासी रुटमा चल्दै आएको छ ।
यी बस चालक भक्तपुरका गंगाराम खाइजु हुन् । दुई दशक अनुभवपछि उनले यो नयाँ प्रयोग गरेका हुन् । सन्देशमूलक प्लेकार्डले भरिभराउ उनको यो बसमा खानेपानी र चाउचाउ पनि उपलब्ध छ । खान मनलाग्ने जो कोहि यात्रुले किनेर खान सक्छन् । तर प्लास्टिकका बोतल, चाउचाउको खोल भने बसभित्र फ्याँक्न मनाही छ ।
मौसम बदलीसँगै वर्षा र हिमपात
पश्चिमी वायुको न्यून चापीय प्रभावले मौसममा भएको परिवर्तनले बिहीबार मुलुकभर वर्षा र हिमपात भयो ।
गएको २४ घण्टामा जुम्लामा सबैभन्दा बढी ३० मिलीलिटर वर्षा भएको थियो भने काठमाडौँमा २९ मिलिलिटर वर्षा भएको विभागको तथ्याङ्क छ । काठमाडौँ उपत्यकाको वरपर बिहीबार बिहान हिमपात भएकाले चिसो बढेको थियो । गत २४ घण्टामा काठमाडौँको अधिकतम् तापक्रम १६.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २ डिग्री सेल्सियस थियो ।
शुक्रबार पहाडी क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का वर्षा भए पनि बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । त्यस्तै शनिबार पनि सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहको बताइएको छ ।
पञ्चेश्वर बैठक
पञ्चेश्वर बहुद्देश्यीय जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा रहेका विवाद टुङ्गो लगाउन बसेको नेपाल र भारतका विज्ञ समूहको बैठकमा केही विषयमा सहमति भए पनि प्रमुख विषयमा भने सहमति हुन सकेन ।
विज्ञ समूहको दुई दिने बैठक बिहीबार सम्पन्न भएपछि पानीको उपलब्धता र उपयोग, आयोजनाको क्षमता निर्धारणलगायतका विषयमा भने सहमति हुन सकेन ।
विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) निर्माणका क्रममा रहेका कूल १६८ विवादमध्ये ६४ विषयमा सहमति भए पनि प्रमुख ठानिएका विषयमा अझै छलफल जरुरी भएको भन्दै निर्णयमा पुग्न नसकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले जानकारी दिए ।
प्रतिनिधिसभाको बैठक बस्दै
प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार बोलाइएको बैठक एक सूचनामार्फत् आजका लागि स्थगन गरेका थिए ।
बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले बिहीबार राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न नसक्ने उनले बताए ।
नेपाली फुटबल विकासमा चीनले सहयोग गर्ने
नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चिनियाँ फुटबल सङ्घबीच सहकार्य हुने भएको छ ।
नेपाल भ्रमणमा रहेका चिनियाँ फुटबल सङ्घ र एन्फाबीच यससम्बन्धी सम्झौतापत्रमा बिहीबार आयोजित कार्यक्रममा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा चिनियाँ फुटबल सङ्घका अध्यक्ष डु चाउछाई र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच चार वर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा दुवै देशको राष्ट्रिय टोलीको आदानप्रदान, पूर्वाधार विकासमा सहकार्य र प्राविधिक विकासमा चीनले नेपाललाई सहयोग गर्ने उल्लेख छ । त्यसैगरी दुईदेशबीच मैत्रीपूर्ण खेल खेलाइने सम्झौतामा उल्लेख छ ।
महिला टोली फर्कियो
थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया छनोटको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । थाइल्याण्डमा बुधबार सम्पन्न छनोटमा उपविजेता बने पनि नेपाली टोली ग्लोबल छनोटमा पुग्न असफल भएको थियो ।
सात राष्ट्र सहभागी उक्त छनोटको शीर्ष टोलीले ग्लोबल छनोटमा स्थान बनाउने प्रावधानअनुसार आयोजक थाइल्याण्ड शीर्ष स्थानमा रहँदै विश्वकपका लागि ग्लोबल छनोटमा पुगेको थियो । छनोटमा नेपाल थाइल्याण्डसँगै पराजित भएको थियो । नेपाल थाइल्याण्डसँंग पराजित भए पनि अन्य पाँच खेलमा विजयी भएको थियो । उपविजेता भएर फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न खेलकूदको सर्वोच्च संस्था राष्ट्रिय खेलकूद परिषद्सहित क्रिकेटका सरोकारवाला कोही पनि विमानस्थल गएनन् ।