
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर टुँडिखेलमा ल्याइएको छ । सामूहि श्रद्धाञ्जलिकालागि शव टुँडिखेल ल्याइएको हो । बुधाबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी उनीहरुको निधन भएकोको थियो ।
त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टमपछि श्रद्धाञ्जलिका लागि टुँडिखेल ल्याइएको हो । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।