
काठमाडौं — पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय पाइलट विंग कमान्डर अभिनन्दन वर्धमानलाई शुक्रवार भारत ल्याइँदैछ ।
पुलवामा आक्रमणपछि भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो । त्यस आक्रमणको जवाफमा पाकिस्तानले पनि २७ फेब्रुअरीमा भारतमाथि हवाई कारवाही गरेको थियो ।
भारतीय वायुसेनाका लडाकू विमानहरूले ती पाकिस्तानी विमानलाई रोक्ने कोशिश गरेको थियो । त्यही क्रममा अभिनन्दन मिग २१ लिएर उडेका थिए तर पाकिस्तानी एयरफोर्सको आक्रमणमा विमान पाकिस्तान प्रशासित कश्मीरमा खस्यो ।
त्यहाँ अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लियो । त्यसपछि उनलाई भारत फर्काउनका लागि प्रयास भएका थिए ।
अभिनन्दनलाई वाघा बोर्डर हुँदै भारत ल्याइने भएको छ । उनका मातापिता पनि उनलाई लिन वाघा बोर्डर जाँदैछन् । जेनेभा महासन्धिअनुसार, कुनै पनि युद्धबन्दीलाई एक हप्ताभित्र रिहा गर्नुपर्ने हुन्छ र एक निश्चित प्रक्रियामार्फत उसकै देशमा सुम्पिनुपर्ने हुन्छ ।
अभिनन्दनलाई भारतसमक्ष सुम्पिनुअघि र सुम्पिएपछि के के प्रक्रिया हुन्छ भन्ने विषयमा बीबीसी संवाददाता गुरप्रीत सैनीले मेजर जनरल राज मेहतासँग कुराकानी गरेका छन् । उनले भनेको कुरा जस्ताको त्यस्तै :
सबभन्दा पहिले इन्टरनेसनल रेडक्रस सोसाइटीले अभिनन्दनलाई लगेर पूर्ण जाँच गर्नेछ । उनलाई कुनै शारीरिक हानि त पुगेको छैन भनी जाँच गरिन्छ ।
उनलाई कुनै ड्रग्स दिइएको वा शारीरिक र मानसिक यातना दिइएको विषयमा अनुसन्धान गर्ने काम पनि जेनेभा महासन्धिको दायित्वमा पर्छ । त्यसको कागजात तयार पारेपछि भारतीय वायुसेनालाई सुम्पिइनेछ ।
भारत आएपछि अभिनन्दनलाई वायुसेनाको मेडिकल टीमले उनको शत प्रतिशत जाँच गर्नेछ । त्यो जाँचका लागि विशेषज्ञ नियुक्त भइसकेको हुनुपर्छ ।
त्यसपछि अभिनन्दनसँग कुराकानी हुनेछ । इन्टेलिजेन्स डीब्रीफिङ हुनेछ र उनमाथि के भयो, कसरी भयो भन्ने विषयमा पूर्ण अनुसन्धान हुनेछ ।
पाकिस्तानमा उनीमाथि भएको व्यवहारका विषयमा सोधपुछ हुनेछ । अनि सबै कारवाहीपछि सरकारलाई प्रतिवेदन दिइनेछ ।
अभिनन्दनमाथि आपत्तिजनक काम भएको रहेछ भन्ने भारतलाई लाग्यो भने उनलाई अन्तर्राष्ट्रिय मञ्चसमक्ष पेश गरिनेछ ।
को हुन् अभिनन्दन ?
अभिनन्दन भारतीय वायुसेनामा विंग कमान्डर हुन् । उनका पिता पनि वायुसेनामा थिए र भाइ पनि वायुसेनामै छन् । अभिनन्दन सन् २००४ मा सेनामा भर्ती भएका थिए ।
अभिनन्दनको शुरूआती भिडियो पाकिस्तानले सार्वजनिक गर्दा उनी घाइते देखिन्थे र उनको अनुहारमा रगत थियो ।
अर्को एक भिडियोमा अभिनन्दनलाई केही मानिसले पिटिरहेको देखिन्छ । अर्कोमा चाहिँ अभिनन्दनको आँखा पट्टी बाँधिएको थियो र उनले भने, ‘मेरो नाम विंग कमान्डर अभिनन्दन हो । मेरो सर्भिस नम्बर २७९८१ हो । म एक फ्लाइङ पाइलट हुँ र म हिन्दू हुँ ।’
त्यसपछि पाकिस्तानले एक भिडियो जारी गरेको थियो जसमा उनले पाकिस्तानी सेनाबाट आफूले राम्रो व्यवहार पाएको र ठीक रहेको बताए ।
बीबीसी हिन्दीबाट