
काठमाडौं — उत्तर कोरियाका परराष्ट्रमन्त्री री योङले अमेरिकाबाट अर्को चरणको वार्ताको प्रस्ताव आएपनि आफ्नो देशको दृष्टिकोणमा परिवर्तन नआउने बताएका छन् ।
योङ भियतनाममा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच भएको शिखरवार्तापछि मिडियासँग कुराकानी गरिरहेका थिए । ट्रम्प र किमबीचको शिखरवार्ता कुनै पनि सम्झौता नभइकनै टुंगिएको थियो ।
ट्रम्पका अनुसार, अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध हटाइनुपर्ने उत्तरको माग अस्वीकार गरेको हो ।
तर बिहीवार अबेर राति सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उत्तर कोरियाका परराष्ट्रमन्त्री योङले उत्तर कोरियाबाट सबै प्रतिबन्ध पूर्ण रूपमा अन्त्य हुनुपर्ने माग नराखेको बरू त्यसमा आंशिक राहत दिनुपर्ने भनेको बताए ।
आफ्नो देशले वास्तविक प्रस्ताव राखेको योङले बताए । यसमा योङबीयोङ परमाणु अनुसन्धान केन्द्रलाई अमेरिकी पर्यवेक्षकको निगरानीमा पूरै बनद गर्ने प्रस्ताव समेत थियो ।
उनले भने, ‘उत्तर कोरिया र अमेरिकाबीच अहिलेको समयमा बढेको विश्वास हेर्दा यो प्रस्ताव आणविक हतियार हटाउनका लागि सबभन्दा राम्रो उपाय भएको देखिन्छ ।’
योङले उत्तरमाथिको प्रतिबन्धमा आंशिक छुट दिइनुपर्ने माग राखिएको किनकि नागरिक अर्थव्यवस्था र जनताको जीवनमा समस्या परेको बताए ।
उत्तर कोरियाले आणविक र लामो दूरीका रकेट परीक्षणमा स्थायी रोक लगाउने प्रस्ताव पनि राखेका थिए । हनोई शिखर सम्मेलन जस्तो अर्को अवसर पाउन मुश्किल हुने पनि उनले बताए ।
योङले भने, ‘अमेरिकाले भविष्यमा फेरि वार्ताको प्रस्ताव राखेपनि हाम्रो सैद्धान्तिक दृष्टिकोणमा परिवर्तन आउने छैन र हामीहरू आफ्नो प्रस्तावमा अडिग रहनेछौं ।’
हनोई शिखरवार्तापछि ट्रम्प र किमले कोरियाली प्रायद्वीपबाट आणविक हतियार हटाउने मामिलामा भएको प्रगतिको जानकारी दिने र सम्झौतामा हस्ताक्षर गर्ने मानिएको थियो ।
तर कुराकानीपछि ट्रम्पले भने, ‘सबै कुरा प्रतिबन्धमै गएर अड्कियो । उनीहरू प्रतिबन्ध पूरै हटोस् भन्ने चाहन्थे र हामी अहिल्यै त्यसो गर्न सक्दैनौं ।’
ट्रम्पले जापान र दक्षिण कोरियालाई उत्तरसँगको कुराकानी भविष्यमा पनि भइरहने विश्वास दिलाए ।
ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सका अनुसार, अमेरिका फर्किने क्रममा ट्रम्पले विमानबाटै जापनका प्रधानमन्त्री शिन्जो आबे र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनसँग लगभग १५–१५ मिनेट कुराकानी गरे ।
त्यसै विमानमा चढेका अमेरिकी परराष्ट्रमन्त्री माइक पम्पिओले अमेरिका र उत्तर कोरियाका अधिकारीहरूले धेरै ढिलो हुनुअघि फेरि कुराकानी गर्ने विश्वास लिएको बताए ।
बीबीसी हिन्दीबाट