दाङ ३० फागुन - नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मधेसी मोर्चाको आन्दोलनका कारण मधेसका सहरहरु सुक्न थालेको बताएका छन् । मोर्चाका नेताका कारण मधेसको नभइ विदेशको हितमा काम गरिरहेको उनको आरोप थियो ।
मेची–महाकाली अभियान अन्तरगत दाङको लमहीमा आयोजित सभालाई सम्बोधनगर्दै नेता नेपालले मधेश आन्दोलनका कारण बीरगन्ज, राजविराज, जनकपुर, सिराहा सबै सुक्न थालेका बताएका हुन् । ’व्यापार व्यवसाय बिग्रिएको छ, मानिसहरु मधेसबाट बाहिरिन थालेका छन्’ उनले भने ।
नेता नेपालले नेपाली भएकोमा आफूहरुलाई गर्व लाग्ने उल्लेखगर्दै मधेशी मोर्चाका नेतालाई नेपाली भएकोमा गौरवबोध हुन्छ कि हुँदैन भनी प्रश्न गरे । ‘विदेशी फौजले नेपाली नागरिकलाई मार्दा तपाईंलाई पोल्छ कि पोल्दैन ? कञ्चनपुरमा भारतीय फौजबाट नेपाली मारिएकोमा संघीय पार्टीका नेता अशोक राईले भारतले मारेको होइन भनेर संसद्मै बोले’ नेता नेपालले प्रश्न गरे ‘म सोध्न चाहन्छु, तपाईंहरुको रगतमा नेपाली रगत बगेको छ कि छैन ?’
सभामा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले इतिहासदेखि नै स्वतन्त्र रहेको मुलुकलाई कसैले केही गर्न नसक्ने र त्यसका लागि जनता सचेत हुनुपर्ने बताए ।