
काठमाडौं – भारतको जम्मुमा रहेको एक बस स्ट्यान्डमा बिहीवार ग्रिनेड विस्फोट भएको छ ।
विस्फोट मध्याह्न १२ बजे भएको हो र त्यसमा परी २५ जना घाइते भएका छन् ।
घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ । दुईजना गम्भीर रूपमा घाइते भएका छन् तर खतरामुक्त छन् ।
प्रत्यक्षदर्शी शशि कुमारले भने, ‘निकै चर्को विस्फोटको आवाज सुनियो । कसैले टायर पड्कियो भने अनि कसैले कम विस्फोट भने । त्यहाँ गएर हेर्दा अनेकौं मानिस घाइते भएर लडेको देखें । हामीले उनीहरूलाई उठाएर गाडीमा राख्यौं र अस्पताल लग्यौं । अनि प्रहरी पनि आइपुग्यो ।’
जम्मु डिभिजनका प्रहरी महानिरीक्षक एम के सिन्हाले केही संदिग्ध मानिसले नयाँ बस स्ट्यान्डमा रोकिएको बसबाट बाहिरतिर ग्रिनेड फ्याँकेको बताए । बसबाहिर उभिएका मानिस आक्रमणमा घाइते भएका हुन् ।
प्रारम्भिक जाँच अनुसार, ग्रिनेडको सबभन्दा धेर असर पञ्जाब रोडवेजमा परेको छ । बसमा बसेका केही यात्री पनि घाइते भए । अनि नजिकका केही मानिसलाई चोट लाग्यो ।
बीबीसी हिन्दीबाट