
काठमाडौं – थाइल्यान्डको संवैधानिक अदालतले राजाकी दिदीलाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने विपक्षी दल भंग गर्ने आदेश दिएको छ ।
‘यो दल विघटन हुनुपर्ने भनी अदालतले आदेश दिएको छ,’ न्यायाधीश तावीकीत मीनाकानितले आदेश दिँदै भने । थाई रक्षा चार्ट पार्टीका कार्यकारी बोर्डका सदस्यहरूलाई राजनीतिबाट १० वर्षका लागि प्रतिबन्ध समेत लगाएको छ ।
उक्त दलले राजकुमारी उबोलरतना राजकन्या सिरिवधना बर्नावादीलाई आगामी निर्वाचनमा प्रधानमन्त्री पदको उम्मेदवार बनाएपछि निर्वाचन आयोगले अदालतसमक्ष उक्त दल विघटनको निवेदन दिएको थियो । सन् २०१४ मा भएको सैन्य कूपछि पहिलोपटक आमनिर्वाचन हुन लागेको हो ।
राजकुमारीलाई नामांकित गरिएकै दिन उनका भाइ राजा महा वाजिरालोङकोर्नले शाही आदेश जारी गर्दै यो नामांकन अत्यन्तै अनुपयुक्त र असंवैधानिक भएको बताए ।
थाई रक्षा चार्ट पार्टी हालै गठन भएको हो र यसको पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रासँग निकट सम्बन्ध छ ।
द गार्डियनबाट