
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन् ।
नेकपाद्वारा विहीवार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वउपप्रधानमन्त्री अधिकारी र हवाई दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसहित अन्य सात जनाले आफ्ना जीवन कालमा पु¥याउनुभएको योगदान स्मरण गरे । अध्यक्षद्वयले सभामा भरतमोहन, रवीन्द्रजस्ता कम्युनिष्ट आन्दोलनलाई हाँक्न सक्ने नेता, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा तथा राष्ट्रसेवक कर्मचारी गुमाएकामा दुःखसमेत व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले दिवङ्गत भएकाको राष्ट्र निर्माणका बाँकी कार्य पूरा गर्ने बताए । उनले दिवङ्गतका परिवारलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘उहाँहरुका पारिवारिक अवस्था कस्तो छ र जीविका चलाउन के गर्न सकिन्छ । उहाँहरुले सञ्चालन गरेको व्यवसायलाई सरकारले के सहयोग गर्नुपर्दछ भनेर जानकारी लिइरहेको छौँ ।’
अध्यक्ष ओलीले भरतमोहन मिलनसार, कडा शब्द प्रयोग गर्न नचाहने र काममा विश्वास गर्ने नेताका रुपमा आफूले पाएको बताए । भरतमोहन छ दशकभन्दा नेपालको लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा सहभागी भएका नेताका रुपमा आफूले पाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सजिलोमा मात्र नभई अप्ठ्यारो परिस्थितिमा पनि निरन्तर कम्युनिष्ट नेता र कार्यकर्ता रुपमा उहाँ कम्युनिष्ट अभियन्ताका रुपमा लाग्नुभएको धारणा राखे ।
प्रधानमन्त्री ओलीले रवीन्द्र अधिकारीले सम्हालेको मन्त्रालयमा एक वर्षमा अगाडि बढाइएका असाधारण एवम् काम बिर्सन नसकिने र कसैले उपेक्षा गर्न नसक्ने बताए । ओलीले आङछिरिङले छोटो समयमा नेपालको पर्यटन क्षेत्रमा उल्लेखनीय काम गरेको स्मरण गरे । उनले दिवङ्गत भएका सबैको चाहना लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँदै मुलुकको समृद्धिको पक्षमा निष्ठापूर्वक काम गरेको बताए ।
अर्का अध्यक्ष दाहालले पार्टी यतिबेला शोकमा डुबेकाले शोकलाई शक्ति र ऊर्जामा बदली उनको सपनालाई साकार पार्नुपर्ने बताए । ‘शोकमा परेको बेला राष्ट्र निर्माणमा नयाँ सङ्कल्प ग¥यौँँ भने मात्र दिवङ्गतप्रति सच्चा सम्मान हुनेछ,' उनले भने, 'हामी रोएर मात्र पीडा व्यक्त गर्न सक्दैनौँ । हामीले उहाँहरुले गरेको राम्रा कामबाट सामूहिक सङ्कल्प गरेर नयाँ ऊर्जा र समाजको अग्रगति तथा प्रगतिको निम्ति शोकलाई शक्तिमा बदल्ने सक्नुपर्दछ ।”
प्रचण्डले दिवङ्गत भएकाको काम हामी बाँचेकाले धैर्य र सङ्कल्प गरेर पूरा गर्नुपर्ने धारणा राखे । जन्मेपछि मृत्यु प्रकृतिको नियम भएको उल्लेख गदै पूर्व प्रधानमन्त्री दाहालले उनीहरूको निधन लाखौं मानिसलाई उद्देलित र तरङ्गित पार्ने गरी धेरै लामो समयसम्म छाप छोड्ने गरी भएको बताए । 'उहाँहरुको निधन पहाडभन्दा ग¥हुङ्गो र कहिल्यै नमर्ने खालको छ', प्रचण्डले भने, 'उहाँहरुको निधनले कस्तो जीवनमा आफूलाई लैजाने भनेर सोच्न समेत प्रेरित गरेको छ ।' प्रचण्डले उनीहरूको अभावमा देशले नेपालको कम्युनिष्ट आन्दोलन र समग्र आन्दोलनले कति ठूलो क्षति व्यहोरेको छ भन्ने कुरा आउने दिनमा हामी सबैले महसुस गर्दै जाने बताए ।
कम्युनिष्ट आन्दोलनको अभिभावक रुपमा भरतमोहन र समाजको रुपान्तरणको निकै ठूलो आशा भरोसा गरेको नेताका रुपमा रवीन्द्र रहेको आफूले पाएको प्रचण्डको धारणा रहेको थियो । 'लाखौँ लाख युवाले आफ्ना लागि ऊर्जाका रुपमा रवीन्द्र लिएका थिए', प्रचण्डले भने, 'उहाँहरुको निधन अकल्पनीय रुपमा भएको भन्दै आउने दिनमा हामीलाई उहाँहरुको अभाव हुँदै जानेछ ।' निधनपछि मानिसले पैसा, गरगहना, घर र जमीन केही पनि नलिईकन जाने उल्लेख गर्दै प्रचण्डले भने, '‘हामीले बिर्सिएर कैयौं नकारात्मक काममा त उद्दत छैनौँ भनेर समीक्षा गर्ने कुरा नेता र राष्ट्रसेवकको दिवङ्गतले सिकाएको छ ।’
पार्टी महासचिव विष्णुप्रसाद पौडेलले दिवङ्गत भएका परिवारका सदस्य एक्लै नभई पार्टी र सरकार सँगै भएको बताए । सभामा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत उपस्थित रहेका थिए । सभामा दिवङ्गतहरुको तस्वीरमा नेताहरूले फूलमाला चढाएका थिए ।