०७ असार २०८३, आइतबार

‘महिलाको सर्वाङ्गीण विकासमा सबैको ध्यान जानुपर्छ’

फागुन २४, २०७५
‘महिलाको सर्वाङ्गीण विकासमा सबैको ध्यान जानुपर्छ’

काठमाडौँ–उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनुभएको छ । १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताउनुभयो । 

उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनुपर्दछ । संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाउनु ज्यादै खुशीको कुरा हो । संविधान कार्यान्वयनसँगै जननिर्वाचित निकाय, सरकारी सेवा, सुरक्षा क्षेत्र, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका विविध क्षेत्रमा महिलाको पहुँच र सहभागिता बढ्दै गइरहेको मैले महसुस गरेको छु ।”

संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभावबिना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायत अधिकार सुनिश्चित गरेको उहाँको भनाइ छ । उपराष्ट्रपतिले आजको दिनले सम्पूर्ण नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गर्नुभएको छ ।
 

कमेन्ट गर्नुहोस्