
काठमाडौं– स्वतन्त्र मधेश गठबन्धनमार्फत मधेशमा पृथकतावादी गतिविधि सञ्चालन गर्दै आएका डा. चन्द्रकान्त राउत (सीके राउत)ले स्वतन्त्र मधेसको माग त्याग गर्ने भएका छन् ।
सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको भोलिपल्टै उनले स्वतन्त्र मधेशको नारा त्याग गर्ने तयारी गरेका हुन् ।
सर्वोच्च अदालतको आदेशपछि राउत बिहीवार नै थुनामुक्त भएका थिए । शुक्रवार दिउँसो उनले राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रमबाट स्वतन्त्र मधेशका गतिविधि अन्त्यको घोषणा गर्ने उनी निकट स्रोतले बतायो ।
त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सो कार्यक्रमलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले दिउँसो १ बजे प्रधामनन्त्री ओलीले विशेष महत्वको विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।
स्रोतका अनुसार सोही कार्यक्रममा राउतले आफ्ना गतिविधि अन्त्यको घोषणा गर्नेछन् ।
स्रोतका अनुसार राउतले सरकारसँग पटक पटकको वार्तापछि स्वतन्त्र मधेशको माग त्याग गर्ने सहमति भएको थियो । अदालतबाट थुनामुक्त भएको भोलिपल्टै राउतले स्वतन्त्र मधेशको माग त्याग्न सहमत भएको विषयलाई अथूपूर्ण रूपमा हेरिएको छ ।