दाङ, १ चैत — नेपालमा दश वर्ष चलेको द्वन्द्वमा विद्रोही पक्ष र सरकार पक्षबाट हजारौं व्यक्ति पीडित बने । ती द्वन्द्वपीडितलाई न्याय दिनका लागि सत्यनिरूपण तथा मेलमिलाप आयोग पनि गठन भएको छ । तर शान्ति स्थापना भएको दश वर्ष बितिसक्दा पनि अझै पीडितले न्यायको अनुभूति गर्न सकिरहेका छैनन् ।
.jpg?1489469365556)
अझै पूर्ण रूपमा शान्ति स्थापित हुन सकेको छैन । आयोगले अझै पनि द्वन्द्वपीडित को हो ? भन्ने प्रश्नको जवाफ समेत प्रस्ट पार्न सकेको छैन ।
अहिले यही र यस्तै प्रश्नको जवाफको खोजीमा छन्, पूर्व प्रहरी निरीक्षक नवराज श्रेष्ठ । उनी सशस्त्र द्वन्द्वको समयमा २०५६ सालमा माओवादीको आक्रमणमा परी घाइते भए । दायाँ हातमा गोली लाग्दा उनको हात कुँजो भएको छ ।
हातमा गोली लागेपछि उनलाई काम गर्न असहज भयो र जागिरबाट पनि अवकाश लिनुपर्ने बाध्यता सिर्जना भयो ।
द्वन्द्वको समयमा घाइते भएका नवराज अहिले न्यायको खोजीमा छन् । उनले दुई महिनाअघि मात्र सत्यनिरूपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । उनले उजुरीमा कुनै व्यक्ति तथा समूहलाई कारवाही गर्न तथा परिपूरणको माग राखेका छैनन् । उनले केवल आफू पीडित कि पीडक भन्ने प्रश्नको जवाफ खोज्दै आयोगमा उजुरी हालेको बताए ।
उनले भने, ‘दायाँ हात कुँजो छ, गोलीले नसा चुँडिएका कारण बायाँ हातभन्दा दायाँ हातको पाखुरो अढाई इन्च छोटो छ । यसले गर्दा काम गर्न गाह्रो हुन्छ ।’
सत्यनिरूपण तथा मेलमिलाप आयोगको निर्देशिकाको ‘द्वन्द्वपीडित’ परिभाषामा पनि उनीजस्तै द्वन्द्वको समयमा घाइते भएकालाई परिभाषित गर्ने विषयमा स्पष्ट खुलाइएको छैन । ‘मजस्तै हजारौंको पीडा यस्तै छ,’ उनले भने, ‘त्यसैले मेरो माग पनि ‘द्वन्द्वपीडित’को परिभाषा स्पष्ट हुनपर्छ भन्ने हो ।’
आयोगको निर्देशिकामा सशस्त्र पक्षबाट प्रहार भोगेका ‘निःशस्त्र’हरू द्वन्द्वपीडित हुन् भनी परिभाषित गरिएको छ । उनी भन्छन्, ‘यो परिभाषालाई आधार मन्ने हो भने म पीडित होइन, पीडक हुँ ।’
उनले प्रतिप्रश्न गर्दै भने, ‘माओवादीको एकपक्षीय आक्रमणमा परी म घाइते भएँ, म कसरी पीडक भएँ ? म किन पीडित नहुने ?’
द्वन्द्वपीडितको परिभाषा अपूर्ण भएको भन्दै यसलाई पूर्ण गराउनुपर्ने उनको माग छ । २०३९ सालमा प्रहरी जवानबाट नेपाल प्रहरी सेवामा संलग्न भएका नवराजको २०५६ मा जाजरकोट सरुवा भयो ।
उतिबेला उनी सई भइसकेका थिए । उनले नौजना जवानको कमान्ड गर्नुपर्थ्यो । एकदिन उनी इप्रका रिम्नाबाट नौजनालाई कमान्ड गरी पीपेखेलामा पुगेका थिए । त्यतिबेला एक्कासि बम विस्फोट भयो ।
अनि लगातार २४/२५ वटा बम पड्किए । उनले विगत सम्झँदै भने, ‘त्यतिबेला उनीसँग गएका अन्य प्रहरी बमसँगै उडिरहेका थिए । म अलि पछाडि भएकाले बममा परिनँ ।’
बम प्रहारसँगै माओवादीले निरन्तर गोली पनि चलाइरहेको थियो । यस्तोमा उनी नजिकैको घरको भित्तामा ओत लागेका थिए । तर उनलाई त्यो भित्ताले पूर्ण रूपमा सुरक्षा दिन सकेन ।
उनलाई माओवादीले बर्साएको गोलीले दायाँ हातमा छेड्यो । उनको हातमै हतियार थियो, तर रगतले रंगिएका उनका हात हतियार चलाउन सक्ने अवस्थामा थिएनन् ।
नवराजको साथमा प्रेम नामका अर्का प्रहरी जवान पनि थिए । प्रेमले नवराजलाई सहयोग गरिरहेका थिए । प्रेमले आफ्नो हातमा भएको हतियार पनि निरन्तर चलाइरहेका थिए । केही समयपछि हतियारमा भएका गोली पनि सकिए ।
‘गोली सकिएपछि आफ्नो मृत्यु पक्का भइसकेको लागेको थियो’, उनले भने । प्रतिरक्षाका लागि फायरिङ गर्न गोली पनि सकिएका थिए । माओवादीले भने निरन्तर गोली चलाइरह्यो ।
उनको नजिकै तीनवटा सकेट बम खसे । तर पड्किएनन् । उनले त्यतिबेला आफ्नो भाग्य बलियो भएको महसूस गरे । लामो समयपछि माओवादीको एकपक्षीय फायरिङ रोकियो । उनीहरूले माइकिङ गर्दै आत्मसमर्पण गर्ने धम्की दिए । ‘प्रहरी जवान प्रेमले गोली सकियो, आत्मसमर्पण गरांै भने तर मैले आत्मसमर्पण गरिनँ, बरू भुइँमै ढलिरहें,’ उनले भने ।
‘सिज ग्रुप अघि बढ् भन्ने माइकिङ गर्दै माओवादी समूह आफैंतिर आइरहेको थियो । केही लडाकुहरू बाहिर निस्केर प्रहरीका हतियार संकलन गर्न थाले । हतियारसहितको अर्को समूह नवराजको शरीरभरि बन्दुक ताक्न आइपुगे ।
नवराजलाई दुश्मनको संज्ञा दिँदै ज्यान मार्ने धम्कीसहित गालीगलौज भए । उनलाई मरिन्छ कि भन्ने त्रास कायमै थियो । ‘शरीरमा ताकिएका बन्दुक कुन बेला पड्किने हुन्, थाहै थिएन,’ उनले भने, ‘तर उनीहरूले सोधेका प्रश्नको जवाफ मैले दिइरहें ।’
उनी थप्छन्, ‘धन्न कमाण्डरले गोली नहान्न आदेश दिए ।’
त्यसपछि बन्दुकको कुन्दाले नवराजलाई टाउकोमा हिर्काउँदै माओवादीहरू त्यहाँबाट गए । त्यतिबेला पुनर्जन्म पाएको अनुभूति भएको उनी बताउँछन् । मृत्यु पर्खेर बसेका उनी माओवादी त्यहाँबाट गएसँगै आफ्ना साथीहरू भएको ठाउँ गए ।
‘माओवादीको आक्रमणबाट ६ जनाको मृत्यु भइसकेको थियो । एकजना अचेत थिए भने अर्का एकजना लुकेर बच्न सफल भएका थिए,’ उनले भने, ‘केही समयपछि उनीहरूलाई हेलिकप्टरले उद्धार ग–यो ।’
दायाँ हातमा गोलीले छेड्दा घाइते भएका नवराजको तीन वर्षसम्म उपचार भयो । तर उनको हात सकुशल रहन सकेन । उनी कुँजो बने । आफू अशक्त भएपछि उनले प्रहरी सेवामा रहेर काम गर्न नसक्ने महसूस गरे र जागिरबाट अशक्त अवकाश लिए ।
.jpg?1489469413752)
अहिले उनी सामान्य जीवनयापन गरिरहेका छन् । उनको सरकारसँग एउटै प्रश्न छ, ‘हामीले देशका लागि लड्दा, लड्दै घाइते भयौं, के हामी पीडित होइनौं र ?’
उनको प्रहरी अस्पतालमा नियमित उपचार भइरहेको थियो तर त्यहाँ राम्रो उपचार नभएपछि उनी शिक्षण अस्पतालमा उपचारका लागि गए । डा. गोविन्द केसी उनको उपचारमा खटिए ।
नवराज भन्छन्, ‘मेरो हात काट्नेसम्मको निर्णय भइसकेको थियो तर गोविन्द केसीले मेरो हातको अप्रेसन तीनपटक आफैं गर्नुभयो अनि काटिनबाट जोगाउनुभयो ।’
आफूले राष्ट्रका लागि लडेकाले आफूलाई द्वन्द्वपीडितको पूर्ण परिभाषाअन्तर्गत पार्नुपर्ने उनको माग छ ।
यो फिचर स्टोरी अस्ट्रृेलियन दूतावासको डाइरेक्ट एड प्रोग्राम र सेन्टर फर मिडिया फ्रिडमको सहकार्यमा सञ्चालित ‘द्वन्द्वोत्तर मेलमिलाप प्रवर्द्धनका लागि पत्रकारको क्षमता अभिवृद्धि परियोजना’ अन्तर्गत तयार पारिएको हो ।