०६ असार २०८३, शनिबार

प्रदेश गएनन् कर्मचारी, सार्वजनिक यातायातमा आफूखुसी भाडा

फागुन २५, २०७५
प्रदेश गएनन् कर्मचारी, सार्वजनिक यातायातमा आफूखुसी भाडा

काठमाडौं–कर्मचारी समायोजनमा तीन महिना खटिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदार पनेरु बिहीबार फूर्तिसाथ भन्दै थिए, ‘कर्मचारी समायोजन सिध्याउन लागें ।’ संघ, प्रदेश र स्थानीय तहमा बिहीबारसम्म समायोजन भएका कर्मचारीको तथ्यांक भने समायोजन महाशाखा प्रमुख पनेरुले भनेजस्तो उत्साहजनक छैन ।

तीन तहमा समायोजन भएका ५३ हजार ६१२ कर्मचारीमध्ये अधिकांश अर्थात् ३४ हजार ७६३ कर्मचारी संघमै रहेको समाचार कान्तिपुर दैनिकमा छ । समायोजन फारम भर्न दिइएको म्यादभित्र ७७ हजार ३४ जनाले फाराम भरेका थिए । जसमा सरकारी सेवाका ७५ हजार ३६७ र अन्य सेवाका एक जार ६६७ जना थिए ।

राष्ट्रिय किताबखानामा भने कर्मचारी संख्या ८९ हजार छ । निजामतीबाहेक करिब २७ हजार स्वास्थ्य सेवाका कर्मचारी छन् । पनेरुका अनुसार निजामती सेवाका ६१ हजार कर्मचारी मात्र समायोजन गर्नुपर्ने देखिन्छ । मन्त्रालयका अनुसार प्रदेशमा आठ हजार १५५ र स्थानीय तहमा आठ हजार ५४७ जना मात्र समायोजन भएका छन् ।

सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति
सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच शुक्रबार ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा राष्ट्रिय सभागृहमा गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेस गठबन्धनका तर्फबाट सीके राउतबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिमा राउतले मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरूमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।

योसँगै स्वतन्त्र मधेश गठबन्धन बिघटन भएको छ । सरकारसँगको सहमति सँगै छुट्टै मधेस राज्यको माग गर्दै विभिन्न पृथकतावादी आन्दोलन गरिरहेका राउतले पृथकतावादी गतिविधि परित्यागको घोषणा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको नामबाट विप्लव समूहले लुट मच्चाएको आरोप लगाए । उनले हत्या र विस्फोट गराउने पार्टी कम्युनिष्ट हुनै नसक्ने बताए । सत्तारुढ दल नेकपाभित्रै सरकारले सीके राउतसँग गरेको सम्झौताको विषयमा विवाद भएको छ ।

मेनपावर व्यवसायी रोहण गुरुङको बसुन्धारास्थित घरमा बम विस्फोट
मेनपावर व्यवसायी रोहरण गुरुङको बसुन्धरास्थित घरमा बम विस्फोट भएको छ । अज्ञात समूहले शुक्रबार साँझ उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा बम विस्फोट गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए । 

उनका अनुसार बम विस्फोटबाट कार पूर्णरुपमा ध्वस्त भएको छ ।  गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष समेत हुन् । विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।  

सार्वजनिक यातायातमा आफूखुशी भाडा
कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका केही यातायात समितिले आफूखुशी सार्वजनिक यातायातको भाडा बढाउन थालेका छन् । विभागले भाडा नबढाए पनि व्यवसायीले आफूखुशी बढाएको भनी बढी भाडा लिन थालेका हुन् ।

बाबा गोकर्णेश्वर र सुन्दरीमाई यातायात कम्पनीका नाममा दर्ता भएका व्यवसायीले यसरी भाडा बढी लिएको यात्रुको गुनासो छ । बाबा गोकर्णेश्वर सञ्चालन हुने रत्नपार्क–साँखु, रत्नपार्र्क–दक्षिणकाली मार्गमा अन्य यातायातले भन्दा बढी लिइरहेको यात्रु रामचन्द्र सिम्खडाले बताए ।

रत्नपार्कबाट थलीसम्म बज्रयोगिनीलगायत अन्य कम्पनीका सवारीले रु २५ भाडा लिने गरेकामा बाबा गोकर्णेश्वरले रु ३० लिन्छ । साँखुसम्मको भाडा पनि अन्य सवारीको भन्दा रु पाँच बढी लिने गरेको उनले बताए । यसैगरी सुन्दरीमाई यातायात समितिले भने फागुन ७ गतेदेखि भाडा बढाएको भन्दै आफूखुशी भाडा लिन थालेको छ । 

यसअघि रत्नपार्क–सुन्दरीजलको भाडा रु २४ तोकिएकामा फागुन ७ गते बढाएको भन्दै रु छ बढीअर्थात् रु ३० असुल्न थालिएको यात्रु सविना घिमिरेले बताइन् । विभागले असोज ७ गतेपछि भाडा बढाएको छैन । कम्पनीका कार्यालय प्रमुख उपेन्द्र न्यौपाने भने विभागले असोज ७ गते गरेको भाडा वृद्धिकै आधारमा फागुन ७ गते समायोजन गरिएको दाबी गरे । असोजदेखि फागुन ७ गतेसम्म सुन्दरीमाई यातायातले तोकिएको भाडा रु २४ भए पनि रु २५ लिएर यो मार्गमा सवारी चलाउँदै आएको थियो । विभागको वेबसाइटमा अहिले पनि असोज ७ गतेपछि भाडा नबढाइएको उल्लेख छ ।

वेवास्था गरेको राजपाको आरोप
राष्ट्रिय जनता पार्टी नेपालले आफ्ना मागहरूप्रति सरकारले पटकपटक वेवास्ता गरेको आरोप लगाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा राजपाका शीर्ष नेताहरूले अधिकार प्राप्तिका लागि लड्ने चेतावनी दिए । राजपाका नेता रेशमलाल चौंधरीलगायतका नेता, कार्यकर्तालाई अदालतले गरेको जन्मकैदको सजायप्रति आपत्ति जनाउँदै उनीहरूले देशभर आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

कार्यक्रममा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, अर्का सदस्य राजेन्द्र महतोले अधिकार प्राप्तीको आन्दोलनलाई शासक वर्गले दमन गरिरहेको उल्लेख गर्दै अधिकार प्राप्तिको आन्दोलनमा आउन सबैमा आह्वान गरे । टीकापुर घटनामा दोषी ठहर गर्दै अदालतले चौधरीलाई जन्म कैदको फैसला सुनाएपछि राजपा सरकारसँग रिसाएको छ । 

राष्ट्रिय गौरवका आयोजनामा समन्वयको अभाव
जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोग र रुख बिरुवा कटानजस्ता समस्याका कारण राष्ट्रिय गौरवका आयोजनामा आशातीत प्रगति हुन नसकेको पाइएको छ । सरकारी निकायबीचमा नै समन्वय हुन नसक्दा सरकारले प्राथमिकतामा राखेका र गौरवका आयोजनाका रुपमा चित्रण गरेका महत्वपूर्ण आयोजना लामो समयसम्म पनि अगाडि बढ्न नसकेको हो । 

अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा जग्गा प्राप्तिका कारण धेरैजसो ठूला र महत्वपूर्ण परियोजना समस्यामा फसेको उल्लेख गरिएको छ । यस्तै निर्माण सामग्रीको अभाव, निर्माण व्यवसायीको फितलो अनुगमन र मूल्याङ्कन प्रक्रियाका कारण पनि महत्वपूर्ण आयोजनामा ठोस प्रगति हुन नसकेको समीक्षामा समेटिएको छ । धेरैजसो आयोजनामा प्राविधिक एवं दक्ष कर्मचारीको अभाव देखिएको छ भने भएका कर्मचारीलाई टिकाएर राख्ने चुनौती पनि उत्तिकै रहेको छ । 

कतिपय आयोजनाको निर्माण गर्ने ढाँचामा नै समस्या भएका कारण पनि जटिलता देखिएको छ । आयोजना शुरु गर्दा एक प्रकारको ढाँचा अवलम्बन गरिएको भए पनि पछिल्लो दिनमा आइपुग्दा थप स्पष्टता हुनुपर्नेमा त्यसो नभएको पाइएको हो । सरकारको आफ्नै समीक्षाअनुसार निर्माण व्यवसायीले समयमा काम नगर्दा कतिपय आयोजना सम्पन्न हुने समय सीमानै यकिन गर्न कठिनाइ भएको पाइएको छ । 

आयोजना कार्यान्वयनका लागि आयोजनासँग सम्बन्धित निकायको समन्वय बैठक हरेक महीना आयोजना गरी समस्या समाधानका लागिसमेत पहल हुनुपर्ने देखिएको अर्थ मन्त्रालयको समीक्षामा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्