
मोरङ— सरकारले जग्गा उपलब्ध गराउन नसक्दा भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्मको रेलमार्ग निर्माण रोकिएको छ । जग्गाको मुआब्जा विवादले विराटनगर–रगेली सडकभन्दा उत्तर २ दशमलव ६ किलोमिटर रेलमार्गका साथै रेलवे यार्ड र स्टेसन निर्माणका लागि भारत सरकारले टेन्डरसमेत निकाल्न सकेको छैन ।
नेपाल सरकारले जग्गा उपलब्ध गराउन नसकेकाले निर्माण कम्पनीले विराटनगर १८ लावाघाटबाट निर्माणको काम अघि बढाएको छैन । बथनाहादेखि लावाघाटसम्म रेलवे लिकको परीक्षणपछि कात्तिकबाट काम रोकिएको हो । सरकारले जग्गा उपलब्ध गराउन नसकेकाले सन् २०१८ सम्ममा रेलमार्ग निर्माण सक्ने लक्ष्य पूरा हुन सकेन ।
भारतको बथनाहादेखि विराटनगर–रंगेलीसम्म भारत सरकारले ४ अर्ब ४८ करोड लागतमा रेलमार्ग निर्माणको काम गरिरहेको छ । नेपाल सरकारले जग्गा उपलब्ध गराउने र भारतले भौतिक पूर्वाधारलगायत काम गर्ने द्विपक्षीय सम्झौताअनुसार रेलमार्ग निर्माण भएको हो । रेलमार्गका लागि भारत सरकारले इरकोण इन्टरनेसनल लि. फार्बिसगन्ज, भारतलाई ठेक्का दिएको छ । ठेकेदारले सन् २०१८ सम्ममा काम पूरा गरिसक्नुपर्ने थियो तर मुआब्जा विवादले ढिलाइ भएको हो ।, कान्तिपुरमा खबर छ ।