
नुवाकोट– बालविवाह गराएको भन्दै अभिभावकविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ५ स्थित काप्रेकी १४ वर्षीया बालिका पिंकी तामाङको गाउँकै २१ वर्षीय काले तामाङसँग गुपचुप विवाह गराएको भन्दै अभिभावकविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटको महिला सेलमा उजुरी परेको हो ।
स्थानीय श्री शंखादेवी माविमा कक्षा ७ मा अध्ययनरत बालिकालाई काका सोनाम तामाङ, बुबा चतुर्मान र कान्छीआमा विमलाले फूपूका छोरा काले तामाङसँग फागुन २१ गते गुपचुप विवाह गराएको बालिकाकी आफन्त (बालिकाकी ठूलोबाबाको छोरी) अनिता तामाङले जानकारी दिइन् ।
आफू सदरमुकाममा रहेको बेला आफूलाई समेत कुनै जानकारी नदिई बालिकाको बिहे गराएको उनको भनाइ छ । बहिनीको बालविवाह भएको जानकारी पाएपछि आफूले फागुन २२ गते जिल्ला महिला सेलमा बालिकाकी काका सोनाम कान्छीआमा विमला र बुबा चतुर्मान तामाङविरुद्ध उजुरी दर्ता गराएको उनले बताइन् ।
स्थानीय शिक्षक जगन तामाङले पनि बालविवाह भएको जानकारी आएको बताए । बिहेपछि बालिका बेहुलाकै घरमा रहेको बताइएको छ ।
अनिताले आफूले बालविवाहविरुद्ध उजुरी गर्दा स्थानीय टाठाबाठा भनिनेहरूले अनेकौं मानसिक तनाव दिएकोसमेत गुनासो गरिन् । उनका अनुसार उजुरीपछि सम्बन्धितलाई आइतवारका लागि प्रहरी कार्यालयमा छलफलमा बोलाइएको छ ।
तामाङ बाहुल्य रहेको तारकेश्वर ५ मा यसअघि पनि बालविवाह हुने गरेको स्थानीय बताउँछन् ।