३० जेठ २०८३, शनिबार

पुर्ख्यौली औजारले राडीपाखी बुन्दै मुगेली, समय धेरै फाइदा कम

कात्तिक २०, २०७४
पुर्ख्यौली औजारले राडीपाखी बुन्दै मुगेली, समय धेरै फाइदा कम
मुगु, १ चैत - मशिनले बुनेका राडीपाखीले बजारको हिस्सा ओगटेपनि मुगुका लघु उद्यमीहरू परम्परागत औजारको सहायताले राडीपाखी बुनिरहेका छन् । परम्परागत औजारबाट राडीपाखी बुन्दा समय धेरै लाग्ने र फाइदा हुन छाडेको उनीहरू बताउँछन् ।

 

मुगुको रुगा गाउँ विकास समिति (गाविस) थार्प गाउँका मक्क बोहोरा पुर्ख्यौली औजारबाटै राडीपाखी बुनेर बिक्री गर्ने गरेका छन् । आधुनिक औजारको प्रयोगविना परम्परागत काठ र निगालोको सामान्य औजार प्रयोग गरी बोहोराले राडीपाखी बुन्दै आएका छन् । पुर्ख्यौली औजारले राडीपाखी बुन्दा समय धेरै लाग्ने झन्झट बढी हुने गरेको उनी बताउँछन् ।

‘आधुनिक औजार कस्तो हुन्छ भन्ने समेत थाहा छैन, जिजुबाजेको पालादेखि प्रयोग हुँदै आएको औजारले राडीपाखी लिई भेरुवा बुन्ने गरेका छौं,’ उनले भने । पुरानै औजारले राडीपाखी बुन्न बानी परिसकेको उनले बताए ।
थार्प गाउँका बोहोरा मात्र नभएर अधिकांश स्थानीय पुर्ख्यौली औजारबाटै राडीपाखी बुनेर बेच्ने गरेका छन् । एउटा राडीपाखी बुन्न दुई हप्ता समय लाग्ने उनीहरू बताउँछन् ।

राडीपाखी बुन्न समय धेरै लाग्ने तर फाइदा कम हुने बोहोराको भनाइ छ । एउटा राडीपाखी, लिउ फेरुवा ३ हजार ५ सय देखि ४ हजार ५ सयसम्म पर्ने गरेको छ । भेडाबाख्राबाट ऊन निकाल्ने, उक्त ऊन हातले केलाएर पुरानै सीपबाट ऊन कातेर राडीपाखी बुन्ने गरेका छन् । समय धेरै लाग्ने र फाइदा कम हुने भएकोले स्थानीयहरू यो पेशाबाट पलायन हुन लागेका छन् ।

परम्परागत शैलीका कारण राडीपाखी बुन्न आधुनिक औजार प्रयोग गर्नुपर्छ भन्ने ज्ञानसमेत उनीहरूसँग छैन । मुन्दु, बाम, मह, कोटीला, झयारी, घुइर, रोवा, सोभा, तल्ललेख लगायत गाउँबस्तीका स्थानीयले पनि भेडाबाख्राको ऊनबाट राडीपाखी बुन्न परम्परागत औजार नै प्रयोग गर्दै आएका छन् ।

हातले बुनेको राडीपाखीको माग राम्रो रहेको यस व्यवसायमा लागेकाहरू बताउँछन् ।

राडीपाखी बुन्ने आधुनिक औजार कहाँ पाइन्छ भन्ने जानकारी नभएको मुन्दु गाउँका रामलाल बोहोरा बताउँछन् । आधुनिक औजार किन्न महंगो पर्ने भएकोले राडीपाखी बुन्ने पुरानै औजार प्रयोग गर्ने गरेका छन् । व्यक्तिगत रूपमा मशिन किन्न ५० हजार देखि १ लाखसम्म मूल्य पर्ने गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालयबाट अनुदानमा औजार लिन फर्म दर्ता राजस्व कार्यालयबाट प्यान नम्बर लिनुपर्ने झन्झटिलो प्रक्रियाले समस्या हुने गरेको उनीहरूको कथन छ ।

व्यावसायिक रूपमा राडीपाखी उत्पादन गर्न आधुनिक औजारकै प्रयोग गर्दा फाइदा हुने कार्कीबाडा गाविसकी एक महिला उद्यमी धनमाया सिंह बूढा बताउँछिन् ।

‘जिल्लामा मैले नै पहिलोपटक आधुनिक औजारबाट ऊनी सामग्री उत्पादन गर्ने गरेको छु,’ धनमाया भन्छिन्, ‘हातले बुनेर फाइदा हुन छाड्यो ।’

यो चालू आर्थिक वर्षमा जिल्लाभरिका करीब २५ जना राडीपाखी बुन्ने उद्यमीलाई आधुनिक औजार अनुदानमा वितरण गर्न सूचना जारी गरिसकिएको घरेलु कार्यालयका प्रमुख विवेकजंग शाहीले बताए । उक्त औजार ८० प्रतिशत रकम कार्यालयले बेहोर्ने र २० प्रतिशत रकम स्वयं उद्यमीले बेहोर्नुपर्ने शाहीको भनाइ छ । राडीपाखी उद्यमीलाई आधुनिक औजारतिर आकर्षण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्