०१ असार २०८३, सोमबार

स्थानीय तहलाई कर्मचारी भर्नामा अंकुश, सीप नजाँची डाक्टर लाइसेन्स

फागुन २६, २०७५
स्थानीय तहलाई कर्मचारी भर्नामा अंकुश, सीप नजाँची डाक्टर लाइसेन्स

काठमाडौं– केन्द्रीय सरकारले ७५३ वटै स्थानीय तहको प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने कानूनको सिद्धान्त र मापदण्डसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । मस्यौदामा स्थानीय तहले जथाभावी कर्मचारी भर्ना गर्ने प्रयासलाई कस्न छवटा सिद्धान्त तथा आधार निर्धारण गरेको छ ।

कर्मचारी कानून बनाउँदा तथा भर्ना गर्दा समेत स्थानीय तहले छ सिद्धान्तलाई अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रावधान प्रस्तावित विधेयकमा राखिएको छ । जसअनुसार स्थानीय तहले कर्मचारी व्यवस्थापनका सम्बन्धमा कानून निर्माण गर्दा योग्यता प्रणालीको सिद्धान्त, समान अवसरको सिद्धान्त, समावेशिताको सिद्धान्त, सेवासर्त सुरक्षाको सिद्धान्त, राजनीतिक तटस्थताको सिद्धान्त र स्वच्छताको सिद्धान्तअनुसार गर्नुपर्ने छ ।, राजधानीमा खबर छ ।

रौतहटमा नेकपा नेताको सम्बोधन
नेपाल कम्युनिस्ट पार्टी नेकपाका शीर्ष नेताहरुले पार्टी एकता र निर्वाचनपछि पहिलो पटक प्रदेश दुईको रौतहटमा आयोजित जनसभालाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनीहरुले एक पटकको जनमतको आधारमा नफुर्किन राष्ट्रिय जनता पार्टी नेपाललाई सचेत गराए । साथैे उनीहरुले जातिय र क्षेत्रिय राजनीति छोडेर विकासको राजनीतिमा आउन पनि आह्वान गरे ।

गरुडामा नेकपा प्रदेश २ ले गरेको जनसभालाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालाई सरकारविरुद्ध नलाग्न चेतावनी दिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश दुईमा नेकपाले सरकार बनाउन सक्ने भए पनि विकासको नेतृत्वका लागि अन्य दललाई मौका दिएको बताए । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीकै पहलमा सीके राउतसँग सहमति भएको जानकारी गराए ।

यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई पार्टी मिलेर बनेको नेकपालाई टक्कर दिने कुनै पार्टी नभएको दाबी गरे ।

सीप नजाँची डाक्टर लाइसेन्स
नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन । सीप परीक्षा नलिइँदा चिकित्सा सेवाको गुणस्तरीयता र विश्वसनीयता शंकाको घेरामा छ । 

चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदीशप्रसाद अग्रवालले काउन्सिलले ज्ञानको परीक्षामा पास गरेको डाक्टरहरुलाई सीप परीक्षामा समेत उत्तीर्ण भएपछि मात्र चिकित्सा पेसा गर्ने अनुमति प्रदान गर्नुपर्ने बताउँछन् । उनले गुणस्तर कायम राख्न लाइसेन्स परीक्षाको उत्तीर्णांक ५०प्रतिशतभन्दा माथि हुनुपर्नेसमेत बताए । काउन्सिलले लिने लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या बढ्दो छ।, कान्तिपुरमा खबर छ ।

आन्दोलनरत समूहलाई वार्तामा आउन अपिल 
गृहमन्त्री रामबहादुर थापाले आन्दोलनरत विभिन्न समूहलाई वार्तामा आउन आग्रह गरेका छन् । कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा भाग लिन शनिबार वीरेन्द्रनगर पुगेका मन्त्री थापाले शान्तिपूर्ण आफ्ना माग पूरा गर्ने अवसरको सदुपयोग गर्न अपिल गरे । 

राज्यको मूलधारमा आउन र लोकतान्त्रिक विधिबाट समस्याको समाधान खोज्न सबैलाई आग्रह गर्दै उनले हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गरिने चेतावनी दिए । वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिने बताउँदै उनले भने, “देशमा शान्ति, सुरक्षा, अमनचयन कायम गराउने राज्यकोे पहिलो दायित्व हो, केही समूहले  केही स्थानमा हिंसात्मक गतिविधि गरेता पनि राज्यले सहजै नियन्त्रणमा लिन्छ ।” 

भूउपग्रह सञ्चालन गर्न नेपाल र फ्रांन्सबीच सहमति
सुरक्षण मुद्रण स्थापना तथा भूउपग्रह सञ्चालन एवम् व्यवस्थापन गर्न नेपाल र फ्रांन्सबीच सहमति भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको यही फागुन २४ गते सम्पन्न फ्रांन्सको छ दिवसीय भ्रमणका क्रममा त्यस्तो सहमति भएको हो ।

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियू)ले नेपाललाई उपलब्ध गराएको ‘अर्बिटल स्लट’ मा भूउपग्रह सञ्चालन एवम् व्यवस्थापन गर्ने नेपाल सरकारको योजना कार्यान्वयन गर्न फ्रांन्स सरकारले नेपाललाई सहुलियतपूर्ण आर्थिक सहयोग तथा प्राविधिकलगायत अन्य आवश्यक सहयोग उपलब्ध गराउने सहमति भएको मन्त्री बाँस्कोटाले सञ्चारकर्मीलाई बताए । 

यही फागुन १३ देखि १५ गतेसम्म स्पेनको बार्सिलोनामा आयोजना भएको मोबाइल सञ्चारसम्बन्धी विश्वव्यापी प्रणाली (जिएसएम) को मन्त्रीस्तरीय कार्यक्रममा सहभागी तथा फ्रांन्सका विदेश राज्यमन्त्री जँ वाप्टिस्ट लम्बानको निमन्त्राणमा फ्रांन्सको औपचारिक भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका मन्त्री बाँस्कोटाले सुरक्षण मुद्रण स्थापना तथा भूउपग्रह सञ्चालन गर्न मन्त्रीस्तरमा दुई देशका सरकारबीच आशयपत्रमा हस्ताक्षर भएको जानकारी दिए ।

सरकारी चालक कारबाहीमा 
ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाउने २९ चालकलाई काराबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले शनिबार विनापास सरकारी तथा संस्थानको सवारी चलाउने उक्त चालकलाई कारवाही गरेको हो । 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले सार्वजनिक बिदाको दिन पास नलिई सवारी चलाउने चालकलाई कारबाही गरेको  बताए । महाशाखाले फागुन २४ गते पनि १७ सरकारी तथा संस्थानको सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो । 

झापा गोल्डपकः उपाधीका लागि झापा ११ र आर्मी भिड्ने 
झापा गोल्डकपको उपाधिका लागि आयोजक झापा ११ र विभागिय क्लब त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा आर्मीले क्यामरुनको दाउफिन्सलाई पराजित गर्दै फाइनलमा झापासँगको भिडन्त पक्का गरेको हो ।

डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीले दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्यो । अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ ले सोमबार प्रतिस्पर्धा गर्ने छन् । आर्र्मी र झापा गत संस्करणमा पनि भिडेका थिए । जसमा घरेलु टोलीलाई निराश बनाउँदै आर्मीले उपाधि जितेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्