
काठमाडौं– विद्यालय तहको नयाँ पाठ्यक्रम आगामी शैक्षिक सत्रमा १०० विद्यालयमा परीक्षणका रूपमा लागू गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यधारी निर्देशक लेखनाथ पौडेलले कक्षा १ र ११ को नयाँ पाठ्यक्रम शैक्षिक सत्र २०७७ देखि मात्र लागू गर्ने तयारी गरिएको जानकारी दिए ।
केन्द्रले यसअघि आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन गराउने जनाएको थियो । केन्द्रका कार्यत्रारी निर्देशक पौडेलका अनुसार आगामी शैक्षिक सत्रमा सातवटै प्रदेशबाट विद्यालय छनोट गरेर पाठ्यक्रम परीक्षण गरिनेछ ।
‘परीक्षणपछि मात्र देशभरका विद्यालयमा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन सुरु हुन्छ’, उनले भने । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय तह कक्षा १ देखि १२ को राष्ट्रिय पाठ्यक्रम प्रारूप पारित गरिसकेको छ । त्यहीअनुसार चालू शैक्षिक सत्रमा नमुना परीक्षण गरेर २०७६ देखि लागू गर्ने तयारी छ ।, कान्तिपुरमा खबर छ ।