२७ जेठ २०८३, बुधबार

घरघरमै पानी आएपछि दैनिकी नै फेरियाे

फागुन २६, २०७५
घरघरमै पानी आएपछि दैनिकी नै फेरियाे

दमौली- तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टाैं हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन् । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको सहकार्यमा ढोरफिर्दी खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै खानेपानीको जोहोमा घण्टाैं खर्चिनुपर्ने बाध्यता हटेको स्थानीय तुलमाया लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको धारा घरघरमै भएको हुनाले घरको काम पनि बेलामै गर्न पाइएको छ, अहिले त दैनिकी नै फेरिएको छ ।” आयोजना निर्माण हुनुअगाडि खानेपानीको जोहो गर्ने पीरले सताइरहने उहाँले बताउनुभयो ।

उहाँका अनुसार एक गाग्री पानी भर्न घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । बिहान–बेलुकाको समय पानीको आशमा लाइन बसेरै बित्थ्यो । उहाँले भन्नुभयो, “दिउँसो २ बजे पानी लिन गइयो भने फर्कँदा साँझ पथ्र्यो ।” उहाँका अनुसार पानीको अभावमा जमीन पनि बाँझै भएपछि तरकारीको लागि बजारमा भर पर्नुपर्ने अवस्था रहेको थियो । अब भने उक्त समस्या हटेको उहाँले जानकारी दिनुभयो । घरघरमै पानीको धारा जडान भएपछि यहाँका स्थानीयवासीले तरकारी खेतीसमेत शुरु गरेका छन् । “सबैले आफूलाई पुग्ने तरकारी आफैं खेती गर्न शुरु गरेका छन्”, उहाँले भन्नुभयो । 

स्थानीय सरस्वती रेग्मीले घरमै खानेपानी आएपछि सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी खोज्न गाउँका कुवा, धारा धाउँदैमा दिन बित्थ्यो । अहिले घरमै पानी आएपछि खुशी लागेको छ ।” रु दुई करोड तीन लाख २५ हजार ८९९ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको लालिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार खानेपानी आयोजनाका लागि नेपाल सरकारबाट रु एक करोड ४२ लाख ७६ हजार ९३० सहयोग भएको छ भने स्थानीयवासीले रु ६० लाख ४८ हजार ९९६ बराबरको जनश्रमदान गरेका छन् । विसं २०६८ बाट निर्माण शुरु भएको खानेपानी आयोजना सात वर्षको प्रयासपछि सम्पन्न भएको हो । 

आयोजनाबाट यस ठाउँका ५०९ घरधुरीका चार हजार ३०४ लाभान्वित भएका छन् । पाँच सय ९ घरधुरीमा नै धारा जडान गरिएको छ । गरजुरे लम्धी खोला कालमुढाको दोभानको मुहानबाट ल्याइएको पानी ५०/५० हजार लिटरका दुई ट्याङ्कीमा सङ्कलन गरेर वितरण गरिएको छ । मुहान र ट्याङ्कीको दूरी १३ किमी छ ।

salt training

कमेन्ट गर्नुहोस्