०२ असार २०८३, मंगलबार

बहुराष्ट्रिय कम्पनीका नाममा उपभोक्तामाथि खेलबाड, 'म्याङ्गो स्लाइस'मा भेटियो शंकास्पद वस्तु

फागुन २६, २०७५
बहुराष्ट्रिय कम्पनीका नाममा उपभोक्तामाथि खेलबाड, 'म्याङ्गो स्लाइस'मा भेटियो शंकास्पद वस्तु

काठमाडौं –बहुराष्ट्रिय कम्पनी बरुण बेभरेज प्रालिले उत्पादन गर्दै आएको म्याङ्गो स्लाइसमा शंकास्पद वस्तु भेटिएको छ । स्लाइसमा शंकास्पद वस्तु मिसावट गरेर बरुण बेभरेज प्रालिले उपभोक्ताको स्वास्थमा गम्भीर खेलबाड गर्दै आएको पाइएको हो ।

उपभोक्ताको पक्षमा आवाज उठाउँदै आएको राष्ट्रिय उपभोक्ता मञ्चले संकलन गरेको नमूनामा शंकास्पद वस्तु फेला परेको हो । मञ्चले संलकन गरेको नमूना अनुसार स्लाइसको बोतलमा शंकास्पद पारदर्शी तरलपदार्थ भेटिएको छ ।

बोतलको केही भागमा स्लाइसभन्दा छुट्टै किसिमको ‘तरल पदार्थ’ देखिन्छ । बोतल हल्लाएमा मात्रै उक्त तरल पदार्थ र त्यसमा रहेको ठोस वस्तु एक आपसमा घोलिएको देखिन्छ । बोतललाई केही समयका लागि स्थिर छाडिदिएमा त्यसमा भएका ठेस र तरल पदार्थ दुवै स्पष्ट रूपमा छुट्टिएको देखिन्छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बरुण बेभरेज प्रालिले उपभोक्ताको स्वास्थमाथि गम्भीर खेलबाड गर्न खोजेको शंका उब्जिएको बताए ।

कम्पनीले ‘म्याङ्गो’ स्लाइस घोषणा गरेर बिक्री गर्दा त्यसमा अन्य कुनै पनि वस्तु नहुनु पर्ने उनको भनाइ छ ।

‘बाह्य वस्तु मिसाएर उपभोक्ताको स्वास्थमाथि गम्भीर खेलबाड गर्न खोजेको जस्तो देखिन्छ,’ उनले भने, ‘स्लाइस भनेको छ । तरल र ठोस स्पष्ट रूपमा छुट्टिएको अवस्थामा पाइयो । यो छुट्टिनु हुँदैन्थ्यो ।’

हेर्नुहोस्, भिडियो :

सरकारी कर्मचारीकै शंकास्पद भूमिका

करीब दुई साताअघि नै संकलन गरेको ‘म्याङ्गो स्लाइस’ मा भएको दुईथरि पदार्थप्रति शंका लाग्दा उपभोक्ता मञ्चले नियामक निकायलाई उजुरी गरेको दाबी गरेको छ । ठोस पदार्थ र तरल पदार्थ स्पष्ट रूपमा छुट्टिँदा त्यसको परीक्षण गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन भन्दै गत १० फागुनमा नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा उजुरी गरेको मञ्चको दाबी छ ।

खाद्य पदार्थको अनुमगन, नियमन तथा शंकास्पद वस्तुको परीक्षण गरी आवश्यक कारवाही (जरिवाना) गर्ने अधिकार पाएको सरकारी निकाय ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग’का कर्मचरीकै भूमिका शंकास्पद देखिने मञ्चका पदाधिकारीहरू बताउँछन् ।

उजुरी गरेको दुई साता बितिसक्दा समेत विभागले उक्त बोतलमा भएको शंकास्पद पदार्थ परीक्षणमा आलटाल गर्दै आइरहेको छ । मञ्चका अध्यक्ष महर्जनले विभागका महानिर्देशक र अनुसन्धान अधिकृतहरूलाई उक्त वस्तु परीक्षणका लागि फोनमार्फत पटक–पटक आग्रह गरिएको बताए । ‘यो नमूना आफैं विभागमा लिएर जान्थेँ, हल्लिएर घोलिन्छ र ठीकै जस्तो देखिन्छ,’ महर्जनले लोकान्तरसँग भने, ‘उनीहरू नै आएर यहाँ स्थिर रहेको अवस्थामा तरल र ठोस पदार्थ स्पष्ट छुट्टिएको बोतल लिएर परीक्षण गरे भइहाल्थ्यो नि !’

उजुरी गरेको दुई साता बितिसक्दा समेत नियामक निकायले परीक्षणमा आलटाल गर्न खोजेको र अझ एक दुई दिनमा नआए आफैं लिएर विभागमा जाने महर्जनले बताए । ‘आलटाल गर्न खोज्दा उनीहरूको भूमिकामा पनि शंका उत्पन्न नहुने होइन,’ उनले भने, ‘अझै एक दुईदिन कुर्दा समेत नआएमा म आफैं लिएर विभागमा जान्छु र परीक्षण गर्न आग्रह गर्छु ।’

विभागको दुईथरी बोली

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बरुण बेभरेजका बारेमा कुनै पनि उजुरी नआएको दाबी गरेको छ । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले उजुरीको बारेमा थाहा नभएको बताउँदै अब थाहा भएकाले चाँडै नमूना लिनका लागि अनुसन्धान अधिकृत पठाउने बताए ।

आइतवार (आज) नै अनुसन्धान अधिकृत पठाउने र मञ्चले संकलन गरेर ल्याएको नमूना ल्याएर परीक्षण कार्य अघि बढाउने कर्णले बताए ।

‘उजुरीको बारेमा थाहा छैन,’ उनले भने, उपभोक्ता मञ्चसँग सम्पर्क गरेर म आजै अनुसन्धान अधिकृत पठाएर नमूना ल्याउन लगाउँछु ।’

त्यस्तै विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बरुण बेभरेजका बारेमा सम्बन्धित अधिकारीसँग बयान लिने क्रममा शुरू भएको बताए । ‘बरुण बेभरेजवाला मान्छेहरूलाई बयान काम भइराखेको छ,’ उनले भने, ‘अझै अनरलाई बोलाउन बाँकी छ । उहाँको बयान लिन बाँकी छ । अनि मुद्दा अगाडि बढ्छ ।’

बरुण बेभरेजका बारेमा परेको उजुरीबारे अनुसन्धान भइरहेको प्रवक्ता वस्तीको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्