
पर्सा- नेपाल विद्युत् प्राधिकरणले वीरगञ्ज वितरण केन्द्रले विद्युत् चुहावट गर्ने ठूला ग्राहकबाट चार करोड रुपैयाँभन्दा बढी बढी रकम असुल गरेको छ ।
मिटर तथा कनेक्सनमा गडबडी गरी लामो समयदेखि विद्युत् चुहावट गर्दै आएका ठूला ग्राहकहरूलाई कारवाही स्वरूप केन्द्रले सो रकम असुल गरेको हो ।
वीरगञ्ज–पथलैया औद्यागिक करिडोरमा रहेका ४५ ठूला ग्राहकलाई कारवाही गरी चालू आवको पहिलो सात महिनामा चार कारोड १३ लाख ९४ हजार रुपैयाँ असुल गरेको हो ।
ग्राहकको मिटरलाई जाँच गर्दा मिटर तथा जडानमा गडबढी फेला परेपछि उनीहरुलाई कारवाही गरिएकोे केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । उनले अनुगमनका क्रममा मिटर तथा जडानमा गडबढी भेटिएका अन्य ३९ ठूला ग्राहकलाई कारवाही गर्न फाइल अनुमतिका लागि विभागमा पठाएको र विभागले फाइल सदर गरेपछि थप दुई करोडभन्दा बढी रकम असुली हुने बताए ।
विद्युत् चुहावटलाई नियन्त्रण गर्न प्रधिकरणले पर्सामा अभियान चलाएपछि गत वर्षको तुलनामा चालू आवमा पहिलो सात महिनामा करीब आठ प्रतिशत चुहावट नियन्त्रण भएको छ । गत आर्थिक वर्षमा १० दशमलव ७३ प्रतिशत विद्युत् चुहावट भएको थियो । चालू आवको पहिलो सात महिनामा दुई दशमलव ८४ प्रतिशत मात्र विद्युत् चुहावट भएको केन्द्रका प्रमुख ठाकुरले जानकारी दिए ।
उनले गत आवमा राष्ट्रिय प्रसारण लाइनबाट ३६ करोड ११ लाख ७३ हजार ११६ युनिट विद्युत् प्राप्त गरेकामा ३२ करोड २४ लाख आठ हजार २२ युनिट बिक्री भई तीन करोड ८७ लाख ७५ हजार ९४ युनिट चुहावट भएको थियो । चालू आवमा मुख्य प्रसारण लाइनबाट २१ करोड ८२ लाख ४१ हजार ८०७ युनिट प्राप्त गरेकामा २१ करोड २० लाख ४७ हजार ४०३ युनिट बिक्री भई ६१ लाख ९४ हजार ४०४ युनिट चुहावट भएको उनले बताए ।
अनुगमनलाई तीव्र बनाएकै कारण चालू आवमा तीन करोड २५ लाख ७० हजार ६९० युनिट विद्युत् चुहावट हुनबाट रोकिएको केन्द्र प्रमुख ठाकुरको भनाइ छ ।
वीरगञ्ज वितरण केन्द्रबाट विद्युत् लिएका ४४ हजार ९५४ जना ग्राहकबाट चालू आर्थिक वर्षको पहिलो सात महिनामा दुई अर्ब दुई करोड विद्युत् महसुल सङ्कलन गरेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा रु एक अर्ब ८० करोड महसुल सङ्कलन गरेको केन्द्रले जनाएको छ ।