२४ जेठ २०८३, आइतबार

विस्फोट र हतियारको राजनीति गर्ने विप्लवको गतिविधिमा राज्य चुप लाग्दैन : प्रचण्ड

फागुन २७, २०७५
विस्फोट र हतियारको राजनीति गर्ने विप्लवको गतिविधिमा राज्य चुप लाग्दैन : प्रचण्ड

पोखरा-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विष्फोट र हतियारको राजनीतिको कुनै अर्थ नरहेको बताएका छन् ।

प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीलाई सरकारसँग वार्ता गरी मूलधारको राजनीतिमा आउन आग्रह गरेका हुन् ।

नेपालमा विस्फोट तथा हतियारको राजनीतिको अब कुनै अर्थ नरहेको बताउँदै प्रचण्डले वर्तमान परिस्थिति गुणात्मकरूपमा परिवर्तित भइसकेको र विस्फोट तथा हतियारको राजनीति अब सम्भव नभएको र त्यस सम्बन्धमा राज्य चुप लागेर नबस्ने बताए । 

सीके राउतसँग गरिएको सहमतिको प्रसंगमा प्रचण्डले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताएका छन् । पृथकतावादी आन्दोलन गरिरहेको समूहलाई मूलधारमा ल्याउने प्रयासस्वरुप सम्झौता भएको बताए । 

पार्टी बैठक र सरकारसँगको छलफल समेतका आधारमा संविधानको मूल मर्म र भावना, राष्ट्रिय एकता, स्वाधीनतालाई सम्मान गर्दै मूलधारको राजनीतिमा ल्याउने भावनामा सहमति भएको प्रचण्डले बताए । सरकारले सबै राजनीतिक प्रवृत्तिलाई मूलधारको राजनीतिमा ल्याउनु जायज कुरा भएको बताउँदै उनले यसले समग्र राष्ट्रिय एकता, स्वाधीनता र सबैलाई समेट्न सरकार गम्भीर छ भन्ने देखाएको उल्लेख गरे । 

राष्ट्रिय एकताका लागि सकेसम्म सबैलाई समेट्ने लक्ष्यअनुरुप सीके राउतसँग सहमति भएको बताउँदै प्रचण्डले सम्झौताका भाषालगायतका विषयमा पनि धेरै विवाद गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे । 'जनअभिमत, जनमत सङ्ग्रहजस्ता विषय संसद्को दुईतिहाइ बहुमतबाट निर्णय गर्नुपर्छ,' प्रचण्डले भने, 'भर्खर जेलबाट छुटेको र मधेश जाँदा आफ्नो सिङ्गो समूहसँग छलफल गरी मूलधारमा आउने तयारी नपुगेको हुनाले हिजो जनकपुरमा राउतबाट भएको प्रस्तुतिबाट प्रश्न त उठेको छ । आज बिहानमात्र प्रधानमन्त्रीसँग यो विषयमा छलफल भएको थियो । सरकारको कुनै आशंका छैन भनेर प्रधानमन्त्रीले जवाफ दिनुभएको छ ।'

पार्टीको एकीकरणपछिका बाँकी काम अन्तिम चरणमा पुगेको र आफूहरू टुङ्ग्याउने क्रममा रहेको बताउँदै प्रचण्डले सरकार पनि आफ्नो गतिमा अघि बढिरहेको बताए । प्रचण्डले थुप्रै कानून बनाउनुपर्ने आवश्यकताका कारण यसले सरकारका काममा केही अलमल भए पनि विकास निर्माणलगायतका काममा सरकार अघि बढिरहेको उल्लेख गरे । 

सामाजिक सुरक्षा, बेरोजगारी अन्त्यलगायतका क्षेत्रमा काम भइरहेको प्रचण्डको भनाइ छ । जनताले नेकपाप्रति आशा एवं विश्वास गरेको बताउँदै उनले हालै रौतहटमा भएको कार्यक्रममा देखिएको जनताको उपस्थितिले उक्त कुरा पुष्टि गरेको धारणा राखे ।

salt training

कमेन्ट गर्नुहोस्