
सुर्खेत- 'पूर्व रजिष्ट्रार अटेरी बन्दा फिर्ता भएन विश्वविद्यालयको गाडी' भन्ने शीर्षकमा फागुन ८ गते लोकान्तरमा समाचार प्रकाशित भएको थियो । सोही समाचारको प्रभावअनुसार पूर्व रजिष्ट्रार महेन्द्र मल्लले समाचार प्रकाशित भएको २० दिनपछि गाडी फिर्ता गरेका छन् ।
मंसिर २० गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले छानबिन समिति गठन गरेका थिए । छानबिन समितिको विरुद्धमा तत्कालीन रजिष्ट्रार महेन्द्र मल्ल सर्वोच्च पुगेका थिए । सर्वोच्चको आदेशअनुसार पूर्व रजिष्ट्रार डा. महेन्द्र मल्ललाई अदालतले पौष २४ गते विश्वविद्यालयको ऐनअनुसार हुने भनी आदेश दिएपनि उनले रजिष्ट्रार हुँदाका बेला प्रयोग गरिरहेको गाडी दुई-दुई वटा पत्र पठाउँदा पनि अटेर गरेर फिर्ता गरेका थिएनन् ।
विश्वविद्यालयका रजिष्ट्रार यामबहादुर कार्कीका अनुसार पूर्वरजिष्ट्रार मल्लले गएको माघ ८ गते गाडीसहितका अन्य सेवा सुविधा फिर्ता गर्न विश्वविद्यालयले पहिलोपटक पत्र लेखेको थियो । तर उक्त पत्रको जवाफमा सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म फिर्ता नगर्ने जवाफ दिएका थिए । ‘हामीले माघ आठ गते डा. मल्ललाई रजिष्ट्रार बापतको सेवासुविधासहित गाडी फिर्ता गर्न पत्र लेखेका थियौं,’ उनले भने, ‘तर उनले गाडी फिर्ता नदिने मनसायसहितको जवाफ फर्काए ।’
विश्वविद्यालय स्रोतका अनुसार केही दिन पहिले उनको घरमा रहेको स्टोर खाली गराएका थिए भने आज गाडी फिर्ता गरेका छन् ।