
सुर्खेत- मंसिर २० गते मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले छानविन समिति गठन गरेका थिए । छानविन समितिको विरुद्धमा तत्कालिन रजिष्ट्रार महेन्द्र मल्ल सर्वोच्च पुगेका थिए ।
सर्वोच्चको आदेशअनुसार पूर्व रजिष्ट्रार डा. महेन्द्र मल्ललाई अदालतले पौष २४ गते विश्वविद्यालयको ऐन अनुसार हुने भनी आदेश दिएपनि अहिलेसम्म उनले रजिष्ट्रार हुँदाका बेला प्रयोग गरिरहेको गाडी दुइ दुइ पत्र पठाउँदा पनि अटेर गरेर फिर्ता गरेका छैनन ।
विश्वविद्यालयका निमित्त रजिष्ट्रार यामबहादुर कार्कीका अनुसार पुर्व रजिष्ट्रार मल्लले गएको माघ ८ गते गाडीसहितका अन्य सेवा सुविधा फिर्ता गर्न विश्वविद्यालयले पहिलोपटक पत्र लेखेको थियो । तर उक्त पत्रको जवाफमा सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म फिर्ता नगर्ने जवाफ दिएका थिए । ‘हामीले माघ आठ गते डा. मल्ललाई रजिष्ट्रार वापतको सेवासुविधा सहित गाडी फिर्ता गर्न पत्र लेखेका थियौं ।’ उनले भने, ‘तर उनले गाडी फिर्ता नदिने मनसाय सहितको जवाफ फर्काए ।’
सुचना अधिकारी केसीका अनुसार डा मल्लको पत्र प्राप्ति पछि उनको नाउँमा माघ १५ गते अर्को पत्र पठाइएको छ । ‘हामीले डा. मल्लको पत्रको जवाफ पाइसकेपछि फेरि अर्को पत्र पठाएका थियौं ।’ उनले भने, ‘तर उनले पत्र बुझ्नै मानेनन ।’
उक्त पत्रको बोधार्थ जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय सुर्खेतमा पनि पठाइएको उनको भनाई छ । यसबारेमा उनीसँग कुरा गर्न खोज्दा पुर्व रजिष्ट्रार मल्लको मोबाईल स्वीच अफ थियो ।