
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको 'सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग' को तेस्रो संस्करणको तयारी सुरु भएको छ।
क्यानले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिताको खेलाडी छनोट प्रक्रिया र टोली संरचनाबारे नयाँ जानकारी सार्वजनिक गरेको हो।
क्यानका अनुसार यसपटकको एनपिएलमा सहभागी फ्रेन्चाइज टोलीहरूले अक्सन (बोलकबोल) मार्फत खेलाडीहरू खरिद गर्नुपर्नेछ। जसका लागि खेलाडीहरूलाई 'क्याटेगोरी ए', 'क्याटेगोरी बी' र 'क्याटेगोरी सी' गरी तीन समूहमा विभाजन गरिएको छ।
यस संस्करणको एनपिएलमा नेपाली खेलाडीहरूको सहभागितालाई थप व्यापक बनाइएको छ। विज्ञप्तिमा उल्लेख भए अनुसार, अब प्रत्येक फ्रेन्चाइज टोलीमा कुल १४ जना नेपाली खेलाडीहरू समावेश हुनेछन्। यसअघिको तुलनामा हरेक टोलीमा २/२ जना नेपाली खेलाडी थप गरिएको क्यानले जनाएको छ।
यी १४ खेलाडीहरूमा मार्की खेलाडी, अक्सनबाट छानिएका खेलाडी र 'ट्यालेन्ट हन्ट' मार्फत आएका प्रतिभाहरू समावेश हुनेछन्।
क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा अक्सनका लागि छनोट भएका खेलाडीहरूको सूची समेत सार्वजनिक गरिएको उल्लेख छ। अक्सनमा १५५ खेलाडी समेटिएको छ ।