
काठमाडाैं- कांग्रेसमा अनुशासन समिति गठनको विषयलाई लिएर नेताहरूबीच आशंका र संशय उत्पन्न भएको छ । निर्वाचनमा भएका असहयोग र अन्तर्घातको छानबिनसहित पार्टीमा सबै खालका अनुशासन कायम गराउन अनुशासन समिति गठन गर्ने सभापति शेरबहादुर देउवाको तयारी अन्तिममा रोकिएको हो ।
खासगरी, पूर्वसंस्थापन पक्षका नेताहरूले सभापति देउवाले गठन गर्न लागेको समितिप्रति संशय प्रकट गरेका हुन् । देउवाले पाँच सदस्यीय समितिमा संयोजकसहित आफ्नो पक्षका तीन र पौडेल–सिटौला पक्षका दुई नेतालाई समेट्न खोजेका थिए । तर, संयोजक र सदस्यले प्रतिशोधका आधारमा कारबाही गर्ने हुन् कि भन्ने संशय पूर्वसंस्थापनका नेतामा देखिएको छ ।
केही दिनअघि सभापति देउवाले केन्द्रीय समिति बैठकबाट समिति गठन गर्न खोजे पनि विवाद हुने सम्भावनाका कारण रोकिएको थियो । समितिको नेतृत्व भीष्मराज आङ्देम्बेलाई दिएर देवेन्द्रराज कँडेल र किशोरसिंह राठोरलाई देउवाले सदस्य बनाउने तयारी गरेका थिए । समितिमा रहने थप दुई नाम पौडेल–सिटौला पक्षसँग मागिएको थियो । तर, कँडेल र राठोर कडा स्वभाव भएका कारण उनीहरूले जबर्जस्ती पेलेरै कारबाही गर्ने हुन् कि भन्ने संशय पौडेल र सिटौला पक्षका नेतामा देखिएको एक नेता बताउँछन् ।, नयाँ पत्रिकामा खबर छ।