
काठमाडौं – भारतको जम्मु कश्मीरस्थित पुलवामा आक्रमणपछि आतंकवादी संगठन जैश–ए–मोहम्मदका प्रमुख मसूद अजहरलाई अन्तर्राष्ट्रिय आतंकवादी घोषणा गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को घोषणामा चीनले भिटो लगाएको छ ।
चीनले भिटो पावर प्रयोग गरेर चौथोपटक मसूदलाई बचाएको हो । तर सुरक्षा परिषद्का सदस्यहरूले अन्य विकल्पमा पनि विचार गर्न सक्ने संकेत दिएका छन् ।
चीनले प्रस्तावको विरोध गरेपनि अन्य चार स्थायी सदस्य अमेरिका, फ्रान्स, बेलायत र रुसले मसूदमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई समर्थन गरे ।
परिषद्का सदस्यले चीनलाई चेतावनी दिँदै ऊ आफ्नो नीतिमा कायम रहँदा अन्य कारवाहीमाथि विचार गर्ने बताएका छन् । सुरक्षा परिषद्का एक कूटनीतिज्ञले चीनलाई चेतावनी दिँदै भने, ‘चीनले यो प्रस्ताव रोक्ने नीति जारी राखेमा अन्य जिम्मेवार सदस्य फरक कारवाही गर्न बाध्य हुनेछन् । यस्तो स्थिति उत्पन्न हुनुहुँदैन ।’
एजेन्सी