१५ असार २०८३, सोमबार

राजधानीको 'ज्यानमारा' प्रदूषण : क्यान्सर, फोक्सो र मुटुरोग मात्र होइन आँखामा समेत समस्या !

फागुन ३०, २०७५
राजधानीको 'ज्यानमारा' प्रदूषण : क्यान्सर, फोक्सो र मुटुरोग मात्र होइन आँखामा समेत समस्या !

काठमाडौं – ‘धूलोले गर्दा मैले आँखा नै कम देख्न थालेकी छु । डाक्टरलाई देखाउँदा आँखामा रस (आँसु) आउने प्वाल टालिएकाले यस्तो समस्या आएको भन्नुहुन्छ । यो धूलोले त रोगी नै बनायो,’ काठमाडौंको बौद्धमा विगत ५ वर्षदेखि कार्पेट पसल सञ्चालन गर्दै आएकी शान्ति रिजालको गुनासो हो यो । रिजाल त प्रतिनिधि पात्र मात्र हुन्, राजधानीका हरेक मानिसको गुनासो हुने गर्छ, धूलोधूवाँले रोगी नै बनायो ।

सडक विस्तार, खानेपानीको पाइप लाइन विस्तार, निर्माण सामग्री जताततै थुपार्ने प्रवृत्ति र कच्ची लिंक रोडहरूका कारण काठमाडौं उपत्यका धुलाम्मे हुन थालेको वर्षौं भइसक्यो । काठमाडौंको चाबहिल, पुरानो बानेश्वर, नयाँ बसपार्क, बालाजु–बाइपास, बल्खु, बौद्ध लगायतका स्थानमा धूलोको समस्या अत्यधिक छ ।

कलंकी–नागढुंगा सडक खण्ड आसपासका बासिन्दाको नियति पनि उस्तै छ । घरभित्र बस्दा पनि धूलो आएर बिरामी पार्न थालिसक्यो । ‘घरमा सुत्दा पनि मास्क लागाउनुपर्छ,’ नैकापमा किराना पसल सञ्चालन गर्दै आएका धनवीर महर्जनले भने, ‘धूलेले खोकी लागेर टिभी नै भयो, ८ महिना औषधि खाएपछि निको भयो ।’

अत्यधिक प्रदूषण

उपत्यकाको प्रदूषण मापन गर्न वन तथा वातावरण मन्त्रालयले ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना गरी रानीपोखरी रत्नपार्क लगायत उपत्यकाका विभिन्न ठाउँमा प्रदूषण मापन यन्त्र राखेको छ ।

आँखाले देख्न नसक्ने पार्टिकुलर म्याटर (पीएम) १०, पीएम २.५ र टोटल सस्पेन्डेड पार्टिकुलेटको तथ्यांक संकलनका लागि उक्त यन्त्र राखिएको हो ।

करीब २ साताअगाडि पानी पर्नुअघि रत्नपार्क क्षेत्रमा प्रदूषण १ हजार ४ सय ४ क्युबिकसम्म पुगेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए ।

पौडेलका अनुसार पानी परेपछि केही दिन कम हुने प्रदूषण पानी रोकिएपछि फेरि बढ्ने गरेको छ ।

‘प्रदूषण सन्तुलन हुन १ सय २० क्युबिक तथा प्रतिसेकण्ड २.५ पीएम हुनुपर्दछ, यसभन्दा माथि भएमा वातावरण सन्तुलन भएको मानिँदैन,’ पौडेलले भने, ‘धूलो र धूवाँले गर्दा प्रदूषण बढिरहेको छ ।’

उपत्यकाका सडकको धूलो र सवारी साधनबाट निस्कने धूवाँले वातावरणमा स–साना कणहरू उत्सर्जन गर्ने जसले गर्दा मुटु, फोक्सो तथा क्यान्सरका रोग निम्तिने समस्या रहेको वातावरणविद् भुषण तुलाधर बताउँछन् ।

‘यहाँका सडकमा गुड्ने गाडीले फाल्ने धूवाँमा ट्याक्सिनोजेनिक (क्यान्सर बनाउने केमिकल) हुन्छ, जसले क्यान्सर र मुटुरोगी बनाउन सक्छ,’ उनले भने ।

रोगी बनाउने धूलोधूवाँ

धूलो र धूवाँले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन समस्या निम्त्याउने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका श्वासप्रश्वास विषेशज्ञ डाक्टर सन्तकुमार दास बताउँछन् ।

डाक्टर दासका अनुसार तत्काल सबैभन्दा धेरै दम खोकीका बिरामीलाई असर पर्छ । यस्ता रोगीमा औषधिको असर पनि कम हुने समस्या निम्तिएको उनले बताए ।

‘दीर्घकालीन रूपमा इन्टर एक्टिसिएल डिजिज (फोक्सो सुक्ने रोग), सीओपीडी क्रोनी अक्सिटव डिजिज (फोक्सोमा एलर्जी) जस्ता रोग निम्तिन्छन्,’ डा. दासले भने ।

पढ्नुहोस्, यो पनि :

कसरी आउँछ काठमाडौंको सडकमा धूलो ? [भिडियो रिपोर्ट]

salt training

कमेन्ट गर्नुहोस्