
काठमाडौं – मलेसियाको एक नदीमा रासायनिक फोहोर फ्याँकिएपछि सयौं मानिस बिरामी परेका कारण ३४ विद्यालय बन्द गरिएको छ ।
शिक्षामन्त्रीले बुधवार यसको जानकारी दिँदै परिस्थिति अझै बिग्रनसक्ने बताएका छन् ।
गत साता एक लरीले दक्षिणी जोहोर राज्यमा यो फोहोर फ्याँकेपछि त्यसबाट निस्केको विषालु धूवाँ टाढासम्म पुग्यो र मानिसहरूलाई बान्ता आउने र असहज हुने स्थिति आयो ।
आधिकारिक समाचार एजेन्सी बर्नामाका अनुसार, खराब धूवाँमा सास फेर्ने लगभग ३०० मानिसको उपचार गरिएको छ भने सयौंलाई अस्पतालमा भर्ना गरिएको छ । बिरामी हुनेमा धेरैजसो बालबालिका छन् ।
पासिर गुदाङ औद्योगिक क्षेत्रमा कस्तो किसिमको विषालु ग्यास निस्केको हो भन्ने स्पष्ट भइसकेको छैन । शिक्षामन्त्री मासज्ली मलिकले अनेकौं क्षेत्रको भ्रमण गर्दा सयौं विद्यार्थीलाई एम्बुलेन्सबाट अस्पताल लगेको देखे ।
त्यसपछि उनले ३४ विद्यालयलाई तत्कालै बन्द गर्न आदेश दिए ।
फोहोर फ्याँक्ने एक व्यक्तिलाई बिहीवार अदालतमा मुद्दा हालिएको वातावरणमन्त्रीले बताए । उसले कानून तोडेको पाइएमा पाँच वर्षसम्मको कारावास सजाय हुन सक्छ ।
एजेन्सी