काठमाडौं, १ चैत – दर्तामा रहेका तर लामो समयदेखि सञ्चालनमा नरहेका कम्पनीका लागि सरकारले सहज व्यवस्था गरेको छ । मंगलवार व्यवस्थापिका संसदबाट पारित भएको कम्पनी ऐन–२०६३ को पहिलो संशोधनले लामो समयदेखि सञ्चालनमा नरहेका कम्पनीका लागि खारेजीको सहज व्यवस्था गरेको हो ।
यससँगै सञ्चालनमा नरहेका ठूलो संख्याका कम्पनीलाई बाहिरिनका लागि तुलनात्मक रूपमा सहजता प्रदान गरेको छ । कम्पनी रजिस्ट्रार कार्यालयका अनुसार अहिले मुलुकभर करीब १ लाख ६६ हजार कम्पनी दर्तामा छन् । तर दर्तामा रहेका ती कम्पनीमध्ये करीब ६० प्रतिशत कम्पनी सञ्चालनमा नरहेको कार्यालयका रजिस्ट्रार प्रेम कुमार श्रेष्ठले बताए । उक्त संख्या झण्डै १ लाख हुन आउँछ ।
यसअघि जटिल कानूनी व्यवस्थाका कारण खारेज हुन नसकेका कम्पनीका लागि संशोधित ऐनले छुट दिएको उद्योग मन्त्रालयका उपसचिव (कानून शाखा) माधवप्रसाद सुवेदीले बताए । खारेजीका लागि व्यवस्था गरिएको यो सुविधा आगामी दुई वर्षका लागि मात्रै रहेको मन्त्रालय बताउँछ ।
व्यवस्थापिका संसदबाट पारित भएको यो संशोधनले चुक्ता पूँजीको शून्य दशमलब ५२ प्रतिशत तिरे खारेजीमा जान सक्ने व्यवस्था गरेको छ । हालसम्म भने सम्बन्धित कम्पनीको चुक्ता पूँजी, सञ्चालनमा नरहेको समयावधि, दफा आदिका आधारमा खारेजीको निर्णय हुँदै आएको छ । यो प्रक्रिया निकै झन्झटिलो र खर्चिलो भएको भन्दै व्यवसायीले गुनासो गर्दै आएका छन् ।
‘लामो समयदेखि सञ्चालनमा नरहेका दस्तुर पनि नतिरेका कम्पनीका लागि संशोधित व्यवस्था निकै सहज छ,’ कम्पनी रजिस्ट्रार कार्यालयका रजिस्ट्रार श्रेष्ठले भने । ‘उदाहरणका लागि ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनी ५ वर्षदेखि सञ्चालनमा छैन र दस्तुर पनि बुझाएको छैन भने चुक्ता पूँजीको शून्य दशमलव ५२ प्रतिशत दस्तुर तिरेर खारेजीमा जान सक्छ,’ रजिस्ट्रार श्रेष्ठले थपे ।
कुनै पनि कम्पनी खारेजीमा जान चाहे सञ्चालक समितिबाट पारित भएर आएपछि प्रक्रिया पु–याए शून्य दशमलब ५२ प्रतिशत दस्तुर तिरेर बाहिरिने व्यवस्था संशोधित ऐनले गरेको छ । मंगलवार व्यवस्थापिका संसद्ले पारित गरेको उक्त ऐन राष्ट्रपतिले लालमोहर लगाएर राजपत्रमा प्रकाशित भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।