०१ असार २०८३, सोमबार

सुर्खेतमा मन्त्रीभन्दा 'आईएनजीओ'का प्रतिनिधिले पछाडि दिए मन्तव्य

चैत १, २०७५
सुर्खेतमा मन्त्रीभन्दा 'आईएनजीओ'का प्रतिनिधिले पछाडि दिए मन्तव्य

सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा राष्ट्रिय सभाको 'राष्ट्रिय सरोकार तथा समन्वय समिति'को अन्तरक्रिया कार्यक्रममा अनौठो दृश्य देख्न पाइयो । न त व्यानरमा सहयोग भनेर कुनै आईएनजीओको नाम र लोगो थियो न त युएनडीपीको सहयोग भन्ने जानकारी नै थियो ।

तीनै तहका सरकार उपस्थित भई व्यापक छलफल भइरहेका बेला युएनडीपीका नेपाल प्रतिनिधि डा. यामबहादुर किसान सबै जनप्रतिनिधिहरूले बोलेका कुरा अंग्रेजीमा ल्यापटपमा टिपोट गरिरहेका थिए ।

यति मात्रै होइन, त्यहाँ आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाभन्दा ठूलो वक्ताको रूपमा आयोजकले डा. किसानलाई बोल्न दिए ।

कार्यक्रमको अन्त्यमा मन्त्रीभन्दा पछि डा. किसानलाई बोल्ने पालो दिएपछि प्रदेश सभा सदस्य धर्मराज रेग्मी झस्किए । ‘व्यानरमा न सहयोगदातको नाम छ, न पहिला खुलाइयो,’ उनले भने, ‘यो चलन राम्रो भएन । लुकाएर सहयोग लिनुभन्दा देखाएरै सहयोग लिएको शोभनीय हुनेथियो ।’

'प्रदेशसभा सदस्य रेग्मीले राष्ट्रिय सरोकारका गम्भीर विषयमा विदेशीलाई निर्वाध रूपमा प्रयोग गराउन हुने थिएन,' उनले भने, ‘आज तीन तहका सरकारको कुरा होला । भविष्यमा सुरक्षाका कुरा होलान् । अन्य सरोकारका कुरा होलान् । ती सबैमा सहयोग लिए राष्ट्रियता कमजोर हुने मेरो ठम्याइ हो ।’

सांसद धर्मराज रेग्मीले प्रदेश सरकारका मन्त्री बोलिसकेपछि आइएनजीओका प्रतिनिधिलाई बोल्न दिने काम पनि गलत भएको बताए । ‘उहाँ जनताको मत ल्याएर जितेर मन्त्री बन्नु भएको हो,’ उनले भने, ‘जनप्रतिनिधि भन्दा ठूलो आईएनजीओ हुनै सक्दैन ।’

यता, युएनडीपीका प्रतिनिधि डा. किसानले आफूहरूले अहिलेसम्म पाँचवटा प्रदेशमा कार्यक्रम सम्पन्न गरेको र ती सबै कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गरेको बताए ।

‘हामीले कार्यक्रममा सहभागी भएकालाई खान, बस्न र आतेजातेको व्यवस्था गरेका छौं,’ उनले भने, ‘तर स्थानीयलाई भने खानामात्रै खुवाएका हौं ।’

धन्यवाद मात्र दिएका हुन् : समिति

समिति सभापति दिलकुमारी रावल थापा पार्वतीका अनुसार कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग युएनडीपीले गरेको हो ।

सबै कार्यक्रमका लागि राज्यबाट बजेट उपलब्ध नहुने भएकाले संसदीय समितिहरूले कतिपय विषयमा दातासँग सहयोग पनि लिन्छन् । 

यूएनडीपीले ब्यानरमै आफ्नो लोगो राख्न पाउनुपर्ने माग समेत गरेको थियो तर समितिले नै वैधानिक ढंगले लिन मिल्ने सहयोग मात्र लिने तर आवश्यक भन्दा बढी स्पेस नदिने भनेर लोगो राख्न नदिएको समितिका एक सदस्यले बताए ।

'युएनडीपीका प्रतिनिधिले अन्त्यमा अनौपचारिक रूपमा धन्यवाद मन्तव्य मात्र दिएका हुन्,' ती सदस्यले भने ।

salt training

कमेन्ट गर्नुहोस्