विराटनगर- विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पियनसिपको तेश्रो खेल सकिएको छ । तेश्रो खेलसम्म आउँदा विराटनगर महानगरपालिकाले आफूलाई चिनाउनको लागि गर्नुपर्ने प्रयासहरु भएको देखिँदैन ।
धुलो, प्रदुषण र अस्तव्यस्तताबीचमा भएको साफ महिला च्याम्पियनसिपमा सहभागी हुन आएका खेल क्षेत्रका व्यक्तिहरू सन्तुष्ट छैनन् । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली साफ महिला च्याम्पियनसिप शुरू हुनभन्दा अगाडि नै विराटनगरको मुख्य सडक र अस्पताल रोडसम्मको सडक बनाइसक्ने योजनामा थिए ।
तर समय बित्दै गयो अनी बीचमा केही प्राविधिक समस्या पनि आए । तर मेयर पराजुलीले भने अनुसारको जिल्ला प्रशासन कार्यालयदेखि अस्पताल चोकसम्मको सडक पुरा कालोपत्रे हुन सकेन । खेलमैदान अगाडिको सडक कालोपत्रे भएपनि मैदानको दक्षिण कोशी अञ्चल अस्पतालसम्मको अवस्था अहिले पनि उस्तै नै छ ।
मेयर भिम पराजुलीले भने पछिल्लो समय कुरा फेरेका छन् । पहिला मेनरोडका सडक कालोपत्रे सक्ने बताएका मेयरले पछिल्लो समय रुटको नाम बताएर काम पुरा गरेको दाबी गर्दै आएका छन् । पहिला भने अनुसारको काम भएको भए अहिले ति सडकहरु कालोपत्रे भएको अवस्था थियो ।
नेपालले पहिलो पटक आयोजनक गरेको पाँचौ महिला साफ च्याम्पियनसिप त्यसमा पनि विराटनगरमा आयोजना हुनु सुखद कुरा हो । तर विराटनगर महानगरपालिकाको तर्फबाट विकास निर्माण गर्ने कुरामा त्रुटी भएको स्थानीय सरोकारवालाले बताउँदै आएका छन् ।
गोल्छा चोकदेखि उत्तरको सडक निर्माण गर्दै गरेको महानगरले त्यहाँदेखि दक्षिणको सडक ट्राफिक चोकसम्म मुख्य बजार क्षेत्र पहिल्यै नखनिएको भए विराटनगरको मुहार राम्रो देखिन्थ्यो ।
कुनैपनि शहरले अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिरहँदा त्यहाँको पर्यटन सम्भावनासँग जोडेर हेर्छन् । तर यो अवस्थामा विराटनगरले कसरी पर्यटन प्रवर्द्धन गर्ला ? यस्तो अवस्थामा विराटनगरले अब आफ्नो लाज कसरी लुकाउने भन्ने चिन्ता छ ।
विराटनगर प्रतिको दृष्टिकोण अन्तराष्ट्रिय समुदायसम्म गलत सन्देश जान्छ भन्ने चिन्ता नगरवासीले गरेका छन् ।
भुटानी प्रशिक्षकको असन्तुष्टि
विराटनगर यस्तो हुनुपर्छ भन्ने सकारात्मक सन्देश दिनु आयोजक शहर विराटनगरको दायित्व थियो तर त्यो चुनौतीलाई अवसरमा बदल्ने संभावना सकिएको जस्तो देखिएको छ । भुटानका प्रशिक्षक सुङ जी ले व्यवस्थित रूपमा खेल मैदान आउनै समस्या रहेको सुनाए । होटलको व्यवस्थापनदेखि प्रशिक्षण स्थलसम्म जान र त्यहाँबाट होटेलसम्म खाना खाने र आउजाउ गर्नुमा नै समय लाग्ने गरेको उनले बताए ।
खेलाडीलाई मात्र हैन विदेशी पत्रकारलाई पनि विराटनगरकाको अस्तव्यस्तताले दिक्क बनाएको छ । विदेशी कोच तथा खेलाडीले नेपालमा भएको साफ महिला च्याम्पियनसिप कहिँ केही नमिलेको जस्तो प्रतिक्रिया दिए । नेपाली महिला खेलाडीका कोच हरि खड्काले पनि नेपालको छवी राम्रो बनाउने अवसर भएकोले यसलाई भव्य रूपमा सम्पन्न गराउनुपर्ने धारणा व्यक्त गरे ।
‘अहिलेको विराटनगरको विकाससँग जोडेएर आएका केही कुराहरु छन्, जो भोलीका दिनमा राम्रो बन्नुपर्छ,' कोच खड्काले भने, 'अप्ठेरोकाबीचमा पनि प्रहरीको स्कर्टिङले सुरक्षा दिएकोले प्रशिक्षण गर्ने ठाउँ र फर्किने ठाउँसम्म ल्याउनको लागि समस्या छैन ।’
उनले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता भएकोले विदेशी खेलाडी तथा कोचहरुबाट आएको केही कमजोरीको टिप्पणीलाई नकार्न नमिल्ने बताए । उनले भने, 'अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हो, हामी पनि विदेशमा भएको भए यस्तै नै भन्थ्यौं होला, स्वाभाविक हो । यो सबै हामीले भोगिसकेका छौ ।’
मेयरका मीठा कुरा
आयोजक शहर विराटनगरले समयमै विकासको काममा व्यवस्थापन गर्न नसकेको भन्ने कुरालाई भने मेयर पराजुलीले गलत रहेको तर्क गरे । भनिए अनुसार रुटको व्यवस्थापनको काम भएको उनको तर्क छ । ‘होटलबाट हाइवे हुँदै, डिएसपी रोड, सिडियो कार्यालय र शहिद मैदानसम्मको रुट व्यवस्थापन गरिएकोले त्यो रुट क्लीयर भएको छ,' उनले भने, ‘हामीले हाम्रो कामलाई पनि रोक्न नहुने भएकालेले बजार फोड्नु परेको हो ।’
भोलीका दिनमा वर्षाको कारण समस्या हुने भएकोले अहिले दिउँसो काम बन्द गरेर रातीको समयमा मात्र काम गरिएको उनको भनाई छ । उनका अनुसार, २६ दिनमा शहिद मैदान आसपासका सडक निर्माण पुरा गरिएको छ । रुटमा हिड्ने बाटोमा समस्या छैन । सबै बाटो पीच गरिएको छ ।
तर यथार्थ अर्कै छ । महानगरले जिल्ला प्रशासन कार्यालय हुँदै शहिद मैदान तथा अस्पताल चोकसम्मको कालोपत्र गर्ने भनिएपनि पनि आधा बाटो मात्र कालो पत्रे गरिएको छ । यसले गर्दा बजारबीचमा खेलाडी तथा खेल हेर्न जाने दर्शकहरुलाई अप्ठेरो छ ।