
काठमाडौं । सरकारका मन्त्रालयहरू, विभाग र मातहतका निकायबाट सञ्चालन भएका अर्बौंका ठेक्कामा एकपछि अर्को बदमासी हुने गरेको पाइएको छ ।
प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले विकास आयोजनाहरू सञ्चालन गर्ने विभिन्न १० वटा मन्त्रालय मातहत सञ्चालन भएका अधिकांश आयोजनामा बदमासी भएको निष्कर्ष निकालेको हो ।
केन्द्रका प्राविधिकहरूले गरेको प्राविधिक परीक्षणका क्रममा अधिकांश आयोजनाहरूले गुणस्तरहीन काम गरेको र केन्द्रबाट त्यसको नियमित अनुगमन हुन नसक्दा बदमासी हुने क्रम झनै बढेको निष्कर्ष निकालिएको हो ।
मन्त्रालयहरूले नियमित अनुगमन गर्न नसक्दा बदमासी बढेकाले निर्माण कार्य गुणस्तरीय र प्रभावकारी हुन नसकेको निष्कर्षसहितको प्रतिवेदन केन्द्रले केही दिनअघि मात्रै प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ । राजधानी दैनिकमा खबर छापिएको छ ।