
कञ्चनपुर– खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताएकी छिन् ।
कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् ।
खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै लिन नहुने बताउँदै उनले खेलकुद क्षेत्रले समग्र राष्ट्रको पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
विकासको काम सँगसँगै सरकार खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि बढी प्राथमिकता दिएर अघि बढिरहेको उनले स्पष्ट पारिन् ।
उनले केन्द्रबाट केही नीतिगत कार्यहरू गर्दा प्रदेश र स्थानीय तहमा काम गर्न समस्या देखिएपनि त्यो समस्या छिटै समाधान हुने बताइन् ।
मन्त्री मगरले संविधान विरोधी र संघीयता असफल पार्न खोज्नेहरुका गतिविधि निष्तेज पार्न सरकार दृढ रहेको प्रष्ट पारिन् ।
उनले सरकारका काम कारवाही रफ्तारमा अघि बढिरहेको स्पष्ट पारिन् ।
कार्यक्रममा पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले जनताका मागहरू धेरै भएकाले कामहरू अझै गर्न बाँकी रहेको बताए ।