
काठमाडौं – इथियोपीयन एयरलाइन्सको बोइङ ७३७ म्याक्स विमान दुर्घटनाका १५७ पीडितको परिवारलाई एयरलाइन्सले दुर्घटनास्थलबाट डढेको माटो दिने प्रस्ताव राखेको छ । पीडितको भौतिक अवशेष नभेटिएसम्म त्यही माटोले अन्तिम संस्कार गर्न एयरलाइन्सले प्रस्ताव राखेको विभिन्न रिपोर्टमा लेखिएको छ ।
गत आइतवार भएको दुर्घटनापछि आज आइतवार इथियोपियाको राजधानी अदिस अबाबामा अन्तिम संस्कारको कार्यक्रम बनाइएको छ र त्यसक्रममा दुर्घटनास्थलको माटो दिने प्रस्ताव गरिएको रोयटर्स समाचार संस्थाले जनाएको छ ।
पीडितहरूको भौतिक अवशेषको पहिचान गर्न ६ महिनासम्म लाग्ने परिवारहरूलाई बताइएको छ ।
उक्त विमान दुर्घटना भएपछि संसारभरि ७३७ म्याक्स ८ र ९ विमानहरूको उडानमा प्रतिबन्ध लगाइएको छ ।
इथियोपियाका यातायातमन्त्रीले विमान दुर्घटनाको कारण पत्ता लगाउनका लागि अनुसन्धानकर्मीहरूलाई निकै समय लाग्ने शनिवार बताएका छन् ।
‘यति ठूलो अनुसन्धानका लागि अत्यन्तै ध्यान दिएर विश्लेषण गर्नुपर्ने हुन्छ र ठोस परिणाम ल्याउनका लागि निकै समय दिनुपर्छ,’ डाग्माविट मोगेसले पत्रकार सम्मेलनमा बताए ।
दुर्घटनामा मारिएका यात्रुका नातेदारलाई डीएनए नमूना दिन उत्प्रेरित गरिएको थियो । उनीहरूले नमूना अदिस अबाबा वा इथियोपीयन एयरलाइन्सका विदेशस्थित कार्यालयमा दिन सक्नेछन् ।
मृत्यु प्रमाणपत्र दुई हप्ताभित्र जारी गरिने अपेक्षा छ ।
बीबीसीबाट