
काठमाडौं – भारतको राष्ट्रिय स्वयंसेवक संघ आरएसएसका वरिष्ठ प्रचारक इन्द्रेश कुमारले सन् २०२५ पछि पाकिस्तान भारतकै अंश बन्ने बताएका छन् ।
शनिवार मुम्बईमा भाषण दिने क्रममा उनले यसो भनेका हुन् । उनले भने, ‘लेखेर राख्नुस्, पाँचदेखि सात वर्षमा कराँची, लाहौर, रावलपिण्डी र सियालकोटमा तपाईंहरू घर किन्नुहुनेछ र व्यापार गर्ने मौका पाउनुहुनेछ ।’
इन्द्रेशले भने, ‘सन् १९४७ अघि पाकिस्तान थिए । त्यो हिन्दुस्तान नै थियो । अब २०२५ पछि त्यो फेरि हिन्दुस्तान हुनेछ ।’
उनले अखण्ड भारतको सपना छिट्टै पूरा हुने आशा गरे ।
उनले भने, ‘भारत सरकारले पहिलोपटक कश्मीरमा कडा रवैया अपनाएको छ । सेनाले राजनीतिक इच्छाशक्तिमाथि काम गर्ने भएकाले हामीहरू लाहौर गएर बस्ने र कैलाश मानसरोवर जानका लागि चीनसँग अनुमति लिइरहनु नपर्ने सपना पाल्छौं । ढाकामा हामीले आफूले भनेको मान्ने सरकार बनाएका छौं र युरोपेली संघजस्तै अखण्ड भारत भारतीय संघ जन्माउने बाटोमा हिँड्दैछौं ।’
दी इन्डियन एक्सप्रेसबाट