
सुर्खेत- दैलेखको आठबीस नगरपालिका वडा नं. ५ कि पबित्रा चौलागाइँले एम्बुलेन्स नहुँदा बच्चा गुमाउनु परेको छ ।
राकम कर्णालीमा भद्र बोहोराको घरमा शनिवार साँझ ८ बजे हातैले बच्चा झिकेर सुत्केरीको ज्यान बचाइएको आठबीस नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार आठबीसमा रहेका दुई वटा एम्बुलेन्स मध्ये सात्तालाको एम्बुलेन्स बिग्रेको तथा सिंगौडीमा रहेको एम्बुलेन्स नेपालगञ्जमा रहेका कारण समयमै सुत्केरीको उद्धार गर्न नसकिएको हो । ‘अन्यत्र एम्बुलेन्सको खबर गर्दा नभेटिएका कारण बच्चाको ज्यान गएको हो,' उनले भने, ‘स्वास्थ्यकर्मी प्रतिक्षा केसीको सहयोगमा आमाको ज्यान बचाइएको हो ।’
उनले धेरै अछामको समयपछि तुर्माकाँधबाट एम्बुलेन्स आएपनि बच्चाको ज्यान बचाउन नसकिएको बताए ।
यता, नगरपालिकामा एम्बुलेन्स अभावका कारण बच्चाको ज्यान गएपछि आक्रोश बढेको छ । ‘नगरपालिकाले डोजर र टिप्पर खरिद गर्नुभन्दा एम्बुलेन्स खरिद गर्नु पर्ने थियो ।’ स्थानीय चक्र शाहीले भने, ‘तर नगरपालिकाले आवश्यकता के हो भनेर ठम्याउन नसक्दा यस्तो दुःखद घटना घटेको हो ।’ पवित्रालाई सुत्केरी व्यथा लागेको तीन दिन भएको थियो भने राकम कर्णाली स्वास्थ्य चौकीले शनिवारनै सुर्खेत लैजान भनेर रिफर गरेको थियो । अस्पतालले रिफर गरेपनि साधन अभावमा बच्चालाई बचाउन नसकिएको स्थानीयको भनाइ छ ।