काठमाडौँ, २ चैत - खुद्रा पसलबाट सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने भएको छ । मङ्गलबारदेखि सरकारले जुनसुकै स्थानबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । सूर्तीजन्य पदार्थ बिक्री वितरणका लागि आन्तरिक राजस्व कार्यालयबाट छुट्टै इजाजतपत्र लिनुपर्ने हुन्छ । साथसाथै सूर्तीजन्य पदार्थ बिक्री गर्ने पसलसमेत अलग्गै हुनुपर्नेछ, गोरखापत्रमा खबर छ ।

गत माघको मन्त्रिपरिषद् बैठकले सूर्तीजन्य पदार्थको बिक्री वितरणलाई व्यवस्थित र मर्यादित गर्न चैत १ गतेदेखि सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को दफा ११ को उपदफा ६ कार्यान्वयन ल्याउने निर्णय गरेको थियो । सोअनुसार अब १८ वर्ष नपुगेका व्यक्ति सूर्तीजन्य पदार्थ खरीदबिक्रीमा सहभागी हुन पाउने छैनन् ।
यस्तै गर्भवती महिलाले समेत खरीद बिक्री गर्न पाउने छैनन् । सूर्तीजन्य पदार्थको बिक्री वितरण गर्ने पसलमा त्यसका लागि ३० सेन्टिमिटर लम्बाइ र २० सेन्टिमिटर चौडाइ भएको सूचना पाटी राख्नुपर्नेछ । स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा. भोला श्रेष्ठले शिक्षण, स्वास्थ्य संस्था, बालगृह, शिशुस्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय तथा तोकिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर पसलबाट समेत बिक्री वितरण गर्न नपाउने जानकारी दिए ।