स्कूल पढ्दाताका एकजना शिक्षक थिए, उनी कक्षामा प्रवेश गर्नेबित्तिकै कोलाहाल वातावरणमा एकाएक सन्नाटा छाउँथ्यो । नियमित गृहकार्य नगरे, प्रश्नको उत्तर नमिलाए, चुइँक्कसम्म हल्ला गरे गाला रन्किने पक्का थियो । बाँसको छडी लिएर ती शिक्षक कक्षामा छिर्दा साना बालबालिकाको मुटु काँप्थ्यो ।

त्यो समय स्कूल भन्नेबित्तिकै विना अपराध सजाय पाउने एउटा पट्यारलाग्दो ठाउँ हो भन्ने छाप बसेको थियो, कलिलो बाल मनोविज्ञानमा ।
बाँसको लौराले पिट्ने, कन्सिरीका रौं तान्ने, औंलाका बीचमा पेन्सिल राखेर च्याप्ने, सबैका अगाडि लज्जित बनाउने विद्यार्थीलाई दिइने सजायका स्वरूप थिए । बालबालिका भयग्रस्त मानसिक स्थितिले आतंकित हुन्थे ।
आफू पनि भुक्तभोगी भएकाले आजसम्म पनि ती दिन सम्झँदा आङ सिरिङ्ग भएर आउँछ ।
जोन काल्डवेल हल्टको पुस्तक ‘अन्डरअचिभिङ स्कूल’ को नेपाली अनुवाद ‘असफल स्कूल’ पढेपछि स्कूले जीवनका तिनै आतंकित क्षण पुनः याद आयो ।
‘स्कूल केटाकेटीको शोषणको मुख्य र वास्तवमा एकमात्र संस्था बन्न पुगेको छ,’ पुस्तकमा हल्टले भनेको कुरा हामीलाई नै हेरेर लेखेका हुन् झैं प्रतीत हुन्छ ।
...
धेरै त आफैं भुक्तभोगी छन्, केहीले वरपरको परिवेश हेरेपनि हुन्छ – आमाको दूध चुसिरहेको कुनै बालक÷बालिका भर्खर टुकुटुकु हिँड्न नपाउँदै कुनै मन्टेश्वरी वा स्कूलमा भर्ना भइसकेको हुन्छ । दिनभरि बच्चा खेलाएर बस्नुपर्ने झन्झट कस्ले लियोस् !
उसो त आजकल सुरक्षाको जिम्मेवारी पनि शहरतिर बर्खे च्याउसरी उम्रिएका बोर्डिङ र मन्टेस्सोरीले लिइहाल्छन्, बाबुआमाको दायित्व स्कुल पु—याइदिने र छुट्टी भएपछि लिन जाने ।
वास्तवमा आजका बाबुआमा सन्तानप्रतिको आफ्नो दायित्व विस्तारै भुल्दै गएका छन् । र त्यो दायित्वको बोझ स्कूलतिर परेको छ ।
स्कूल अर्थात कारागार ।
निर्धारित पाठ्यक्रम, कडा अनुशासन, अनिवार्य उपस्थिति, गृहकार्यको बोझ, पाठ्यक्रमको एकोहोरो रटान, परीक्षाको भूत, शिक्षक—शिक्षिकाको रुखो व्यवहार आदिले भरिएको स्कूललाई लेखक हल्टले कारागार करार गरेका छन् ।
पुस्तकभित्र लेखकले आफ्ना अनुभवमा आधारित मार्मिक अनेक प्रसंग उल्लेख गरेका छन् । नियमित स्कूल छुट्टीपछि घर फर्किरहेकी एक बालिकाले घर पुगेपछि सबै वयस्कहरू आराम गर्ने तर आफू भने गृहकार्यमा जोतिनुपर्ने गुनासो पोखेको सन्दर्भ मर्मस्पर्शी छ ।
यसले शिक्षाको नाममा कलिलो बाल मनोविज्ञानलाई कतिसम्म नियन्त्रित गरिएको छ भन्ने प्रस्ट देखाउँछ ।
‘हामी केटाकेटीलाई भनिरहेका हुन्छौं – तिम्रा अनुभव, चिन्ता, जिज्ञासा, आवश्यकता, आश्चर्य, कौतुहल, इच्छा, आशा, डर सबै बेकारका कुरा हुन्, यिनको कुनै महत्व छैन,’ लेखक भन्छन्, ‘महत्वको कुरा एउटामात्र छ – हामी के जान्दछौं, केलाई महत्वपूर्ण ठान्दछौं, तिमीले के सोच्नुपर्छ, के गर्नुपर्छ हामीले बताउने हो ।’
फुक्काफाल र रमाइलोमा झुम्नुपर्ने उमेरका बालबालिकालाई कलिलै उमेरमा जेलसरी स्कूलमा कोचिएको देखेर लेखकले आजको शिक्षालाई मानवजातिकै सबैभन्दा तानाशाही र खतरनाक आविष्कार भन्ने संज्ञा दिन्छन् ।
‘हामीलाई भेडा चाहिएको हो भने हाम्रो स्कूलको वर्तमान अवस्था त्यसका लागि एकदमै उपयुक्त छ,’ लेखक भन्छन् ।
सामान्य पाठकलाई लाग्छ, लेखक अराजक हुन् । पुस्तकभरि लेखकले जोड दिएका छन्, ‘सिक्ने प्रक्रियामा यी पाठ्यपुस्तकको कामै छैन, परीक्षा र परीक्षाफलजस्ता बेकारका कुरालाई बिर्सिदिए पनि हुन्छ । लेखकको स्पष्ट दलिल छ – सिक्ने प्रक्रियामा परीक्षा, टेस्ट, अंक, ग्रेड आदिको कुनै उपयोगी भूमिका नै छैन । प्रायः शिक्षण नै सिकाइ प्रक्रियामा बाधक रहेको उनको भनाइ छ ।
हरेक आमाबाबुको इच्छा हुन्छ, स्कूलमा आफ्ना सन्तानले पढून् र भविष्यमा असल मान्छे बनून् । तर पुस्तक पढ्दा विद्यमान शिक्षण पद्धति र स्कूलले बालबालिकालाई ज्ञानको दायरा बढाउनुको सट्टा कसरी संकुचित बनाउँदै लगेका छन् भन्ने प्रस्ट हुन्छ ।
केटाकेटी र अरूका लागि पनि स्कूल सिक्नमात्रै हैन बस्नकै लागि पनि खराब ठाउँ रहेकामा लेखक दृढ छन् । ‘हामीले केटाकेटीलाई स्कूलको चौघेराबाट बाहिर निकालेर वास्तविक दुनियाँलाई प्रत्यक्ष रूपमा सीधै बुझ्ने अवसर दिनुपर्छ,’ लेखक भन्छन् ।
सिकाइको प्रक्रिया गतिशील रहेको र आवश्यकता अनुसार कुनै पनि व्यक्तिले समस्याको हल गर्ने विधि आफैं आविष्कार गर्छ भन्ने लेखकको मत छ । संसारका ज्वलन्त समस्या र प्रश्नहरूको हल स्कूलको चौघेराबाहिरै रहेको लेखकको दाबीलाई पत्याउने प्रशस्तै आधार छन् ।
कक्षामा शिक्षक अत्यन्त धेरै बोल्ने र अनुशासनका नाममा बालबालिकामाथि निरंकुशता लागू गर्ने विद्यमान शिक्षण पद्धतिको लेखक घोर निन्दा गर्छन् ।
हाम्रो विद्यमान शैक्षिक प्रणालीको सशक्त विशेषता भनेको निश्चित पाठ्यक्रम पछ्याउनु र कुनै विद्यार्थीले निर्धारित पाठ्यक्रममा निपूणता हासिल गर्नु हो । खालि निर्धारित पाठ्यक्रममा उत्कृष्ट प्राप्ताङ्क हासिल गर्ने भूतले बालबालिकाको सम्पूर्ण सृजनशीलता नष्ट गरेको लेखकको ठोकुवा छ ।
स्कूलले विद्यार्थीलाई खालि एउटा उपभोग्य वस्तुको रूपमा हेर्ने र तिनको भीषण शोषण गरिरहेका प्रमाण जुटाउन लेखकले भरमग्दुर प्रयास गरेका छन् । ‘केटाकेटीमाथि हामी जसरी दबाब दिन्छौं, त्यसबाट तिनले आफूलाई निरीह, असहाय र सत्ताहीन महसूस गर्छन्,’ लेखक भन्छन् ।

पुस्तकमा लेखक स्कूलप्रति यति क्रूर देखिन्छन् कि स्कूललाई उनले ठाडै जालसाजी र ठगीको कारोबार गरिरहेको आरोप लगाउँछन् ।
हरेक स्कूलमा शिक्षकको कामै विद्यार्थीबीच विभेद पैदा गर्ने रहेको भन्दै पुस्तक शिक्षकमाथि जाइलागेको छ ।
‘शिक्षा कुनै सत्ताधारीको कृपा प्राप्त गर्न अन्य विद्यार्थीका विरुद्ध तिनलाई उछिन्ने एउटा दौड हो भन्ने मान्यता स्कूल र कलेजले त्याग्नैपर्छ,’ हल्ट लेख्छन् ।
सत्ताले आफू अनुकूल राज्यका संसाधनको उपयोग गर्छ –यो सामाजिक अध्ययनको एउटा पाटो हो । आजको शिक्षामा यो कुरा हुबहु लागू हुन्छ । लेखक यस्तो शिक्षाले विश्वव्यापी गुलाम राज्यव्यवस्थाको जग थप गहिरो बनाउँदै लगेको भन्छन् ।
‘परम्परागत शिक्षाको एउटा महत्वपूर्ण उद्देश्य केटाकेटीलाई यस्ता वयस्क बनाउने रहँदै आएको छ, जसले आफ्ना नेताहरूले भनेपछि अरू मानिसलाई शत्रु मानून्, उनीहरूलाई घृणा गरून् र मार्ने प्रयास गरून्,’ लेखक भन्छन् ।
हरेक स्कुल कलेजले विस्तृत अस्मिता, जिज्ञासा, बुद्धिमत्ता र स्वतन्त्र चिन्तनलाई मार्दै लगेकोमा लेखक स्पष्ट छन् । यो शिक्षाले हरेक व्यक्तिलाई ‘कमोडिटी’मा परिवर्तन गर्दै लगेकोमा उनको चिन्ता छ ।
हरेक शिक्षकलाई कक्षामा पुगेपछि एउटै चिन्ताले घर गरेको हुन्छ, कसरी विद्यार्थीलाई अनुशासनमा ल्याउने । तर, लेखक भन्छन्, ‘कक्षामा केटाकेटी जोडतोडले हल्ला मच्चाउँछन् भने, त्यहाँ त्यसभन्दा राम्रो गर्न सकिने अरू कुनै कामै हुँदैन ।’
पुस्तकमा लेखकले एउटा डरलाग्दो तथ्य उजागर गरेका छन् । अधिकांश स्कुलले जानीबुझी असफल हुने रणनीति अपनाएका उनको ठोकुवा छ ।
‘शिक्षा त्यो चीज हो, जो व्यक्तिले स्वयंलाई दिन्छ, त्यो होइन, जो अरू कसैले उसलाई देओस्,’ उनको गम्भीर दार्शनिक भनाइ छ ।
अन्तमा एउटा आदर्श स्कूलको वर्णन गरेर लेखकले संसारमा यस्तो सिकाइ पनि सम्भव रहेछ भन्ने देखाउन खोजेका छन् । डेनमार्कको ‘नाइ लिलस्कोल’ नामक स्कूलको वर्णन लेखकले गरेका छन् ।
लेखकले पुस्तकमा अमेरिकाको आजभन्दा पाँच दशकअघिको अमेरिकी शैक्षिक परिवेशमा आधारित रहेर पुस्तक लेखेका हुन् ।
भलै पचासौं वर्षअघिको अमेरिकी परिवेश हालको हाम्रो परिवेशसँग मेल खान आयो । तर यसबीचमा अमेरिका निकै अघि बढिसकेको कुरा दर्शाउन पुस्तकको भूमिकामै अनुवादक शरच्चन्द्र वस्ती लेख्छन्, ‘अमेरिकाका स्कूलहरू पर्याप्त परिवर्तित भइसकेका रहेछन्, स्कूल केटाकेटीका लागि विकर्षण होइन, आकर्षणका केन्द्र बन्दै गएका रहेछन् ।’
वर्तमान शिक्षा र स्कूलको प्रवृत्तिलाई पुस्तकले सपाट व्याख्या गरेको छ । पुस्तक विशेषगरी हरेक शिक्षक, नीतिनिर्माता मात्र नभएर विद्यार्थी र आम जनताका लागि पनि उपयोगी छ । उत्कृष्ट अनुवादले पुस्तकलाई थप उजिल्याएको छ ।