काठमाडौं, २ चैत — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००५ मा १५ अर्ब रुपैयाँ आम्दानी गरेकोमा लगभग चार अर्ब रुपैयाँ कर तिरेको खुलासा भएको छ ।

एमएसएनबीसी टिभीले हात पारेको कर चुक्तासम्बन्धी दस्तावेजमा उक्त कुरा खुलेको हो । तर त्यसबाट उनको आयस्रोत वा उनले गरेको दानदातव्यका बारेमा केही खुलेको छैन ।
ह्वाइट हाउसले कसैको पनि करचुक्ता प्रकाशित गर्नु गैरकानूनी भएको बतायो ।
ट्रम्पले निर्वाचन अभियानका बेलामा करचुक्ता सम्बन्धी कागजात प्रकाशित गर्न मानेका थिएनन् । परम्पराविरुद्धको कदम हो यो ।
उनले कर अधिकृतहरूले आफ्नो आम्दानीको लेखापरीक्षण गरेको अनि उनका वकिलहरूले करचुक्ता प्रकाशित नगर्नू भनेको बताए । उनका आलोचकहरूले भने उनले केही लुकाइरहेको आशंका गरेका छन् ।
संवाददाताहरूका अनुसार यो खुलासामा विस्तृत कुरा नभएपनि यसको महत्त्व चाहिँ रहेको बताएका छन् किनकि राष्ट्रपति ट्रम्पका कर व्यवहारका बारेमा खासै जानकारी पाइँदैनन् र यो नयाँ सूचनाले उनलाई करचुक्ताको थप जानकारी दिन दबाब पार्नेछ ।
बीबीसीबाट