०७ असार २०८३, आइतबार
सडक सञ्जाल

बुटवल–नारायणगढ सडक : महेन्द्रले बनाएको राजमार्ग ओलीले चौडा गर्दै

चैत ८, २०७५
बुटवल–नारायणगढ सडक : महेन्द्रले बनाएको राजमार्ग ओलीले चौडा गर्दै

बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ सडक खण्ड ४ लेनमा विस्तारको काम शुक्रवारबाट हुँदैछ । हाल सडक २ लेनको छ । 

राजमार्गको १ हजार २७ किलोमिटर सडक खण्डमध्ये बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार गर्न थालिएको हो । सडक खण्ड राजमार्गको मध्य भागमा पर्छ । १ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन सहितको हुनेछ ।

सडक विस्तारको शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम छ । सडक एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा बन्न लागेको हो । सडक विभाग आयोजना निर्देशनालय उपआयोजना निर्देशक सागर पौडेलले चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको जानकारी दिए । अबको ३ वर्षमा सडक देशकै नमूना हुनेछ । 

‘यो सडक २ प्याकेजमा बन्छ । दुवै प्याकेजको ठेक्का चाइना स्टेट कन्ट्रक्सनले पाएको छ । नारायणगढ– दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने बुटवल ४९ किलोमिटरमा बन्नेछ,’ उनले भने । सडक निर्माणको पहल नेकपा महासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको पहलमा भएको हो । सरकारले पूर्व–पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने बताएको छ । बढदो सवारी साधनको चापसँगै सडक पनि साघुरो हुँदै गएको थियो ।

१५ अर्ब रूपैयाँ लागत 

सडक आयोजनाको कूल लागत १५ अर्ब रूपैयाँ रहेको छ । जसमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ ।

बाँकी थप रकम नेपाल सरकारकै हुनेछ । एडिबीले नेपाल सरकारलाई १ दशमलब ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको एडिबीको आयोजना निर्देशनालयले जनाएको छ । ‘यो सडक साढे ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी हस्तान्तरण गर्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । 

निर्माण सम्पन्न भएपछि पनि ४ वर्षसम्म सडकको मर्मत सम्भारको काम चाइना स्टेट कन्ट्रक्सनले नै गर्नुपर्ने सम्झौतामा उल्लेख छ,’ पौडेलले भने ।

साढे ३ वर्षमा बनिसक्ने

२०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनाको ठेक्का गएको पुस ४ गते भएको थियो । सडक विस्तारको औपचारिक काम शुक्रवारबाट हुँदैछ । 

त्यसपछि २०७४ साउन २१ सम्म मर्मत सम्भार पनि ठेकेदार कम्पनीले नै गर्नेछ । सडक निर्माण हुन लागेपछि यस क्षेत्रका उद्योगी व्यवसायी र सर्वसाधारण उत्साहित छन् । आयोजना ठेकेदारले निर्माण सामग्री चीन, पाकिस्तान र भारतबाट भित्र्याएको छ । 

दाउन्नेमा ३ लेन 

सडक नवलपरासीको दाउन्नेको पहाडमा तीन लेनको हुनेछ । बर्दघाटको प्रतिक्षालयदेखि दुम्कीबाससम्म १४ किलोमिटरको सडक अफ्ठयारो ठाउँ भएकोले त्यहाँ ३ लेनको हुने पौडेलले बताए । पहाड चढ्ने गाडीले २ लेन प्रयोग गर्छन् । झर्ने गाडीले १ लेन प्रयोग गरेर झर्छन् । ४ लेन बनाउँदा लागत पनि बढी लाग्ने र बनाउन पनि जोखिम भएकाले ३ लेनको बनाइने आयोजनाको भनाइ छ ।

पौडेलले भने, ‘दाउन्नेमा भौगोलिक र प्राकृतिक अवस्थाले त्यसलाई चार लेन बनाउन सम्भव देखिएन त्यसैले त्यहाँको प्राकृतिक संवेदनशीलतालाई ध्यानमा राखेर ३ लेन मात्रै बनाउन लागिएको हो ।’ ४ लेन सडकलाई २–२ लेनको  बीचको भाग विरूवा रोपेर हरियाली बनाइने छ ।

२१ वटा पुल पनि बन्ने

सडक खण्ड विस्तारसँगै २१ वटा नयाँ पुलहरू पनि बन्ने भएका छन् । अहिले जहाँ–जहाँ पुल छन्, तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल पनि बनाउनुपर्ने छ । 

डिभाइडरमा ‘ग्रीनरी’

सडकको डिभाइडरलाई हरियाली बनाइने छ । जसले यात्रुलाई मात्रै सहज हुने छैन, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्ने छ । यसअनुसार बस्ती क्षेत्रमा सडक २७ मिटरसम्म फराकिलो हुनेछ । अन्य क्षेत्रमा भने २२ मिटर ओगट्ने छ । सडकका दायाँबायाँ १.५–१.५ मिटरको सोल्जर पनि बनाइने छ ।

सडक आयोजनाका कार्यालय गैडाकोटमा रहेको छ । आयोजनाका इन्जिनियर प्रमोद अधिकारीले काम तीब्रताका साथ हुने बताए । अहिले सडक निर्माण क्षेत्रका रूख कटान, निर्माण सामग्री राख्ने क्याम्प निर्माणको काम भइरहेको छ । सडक विस्तार गर्दा झण्डै ११ हजार रूख काट्नुपर्ने अवस्थामा रहेका छन् ।  सडकले रूपन्देही, पश्चिम नवलपरासी र नवलपुर गरी ३ जिल्ला छुनेछ ।

मुआब्जाको समस्या कम

अन्य सडक विस्तार गर्दा वा निर्माण गर्दा मुआब्जा वितरणको समस्याले गर्दा सडक निर्माण निर्माणमा अवरोध हुँदै आएको छ । तर सडक खण्डमा मुआब्जाका समस्या नहुने बताइएको छ । नवलपुरको विनय त्रिवेणी गाउँपालिका दुम्कीबास क्षेत्रको केही भागमा मात्र मुआब्जाका वितरण गर्नुपर्नेबाहेक अन्यत्र समस्या नहुने आयोजनाको भनाइ छ । 

कहिले बनेको थियो राजमार्ग 

नेपालका पूर्वराजा महेन्द्र वीरविक्रम शाह २०१८ सालमा नवलपरासीको गैंडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए । २०२२ सालमा नवलपरासीको गैडाकोटमा तत्कालीन महेन्द्र राजमार्गको उद्घाटन गरेका थिए ।

महेन्द्र राजमार्ग बन्नुअगाडि नेपालमा राज्यका न्यूनतम पूर्वाधार समेत थिएनन् । राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो । देश गणतन्त्रमा गएपछि राजमार्गको नामबाट ‘महेन्द्र’ हटाएर ‘पूर्वपश्चिम’ राजमार्ग मात्रै कायम गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्