
काठमाडौं- उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट संकलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् ।
स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् । बाग्मती सफाइ महाअभियानको ३०६ औं हप्तामा टेकू दोभानस्थित बाग्मती नदी किनारमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
सफाइमा पूर्वराजदूत भिक्ट्रीशम्शेर जबरा, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरे, सफाइ अभियानकर्मीलगायत ३०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २० संस्थाको सक्रियता रहेको अधिकार सम्पन्न बाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले जानकारी दिए । सफाइमा छहारी संस्थाले अमेरिका र स्पेनका नौ जना पर्यटकलाई पनि उपस्थित गराएको थियो ।
गुह्येश्वरीमाथिको नदी सफाइको २६७ औं हप्तामा गोकर्णेश्वर नगरपालिका–४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । नगरपालिका–४ को संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
यसैगरी कागेश्वरी मनोहरा नगरपालिका–८ को संयोजनमा त्रिभुत्रवन अन्तर्राष्ट्रिय विमानस्थलमुनिको नदी किनारमा सफाइ गरियो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत आह्वान गरेको छ । घरकै फोहर व्यवस्थापन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।
सफाइमा आउनेलाई नदीभित्र छिर्ने गरी आवश्यक सामग्रीसहित आउन बाग्मती सुन्दरता सरोकार मञ्चले आह्वान गर्दै आएको छ । माटो र कुहिने फोहरलाई डम्पिङ साइटमा नपठाउन पनि मञ्चले सफाइ अभियानकर्मीलाई अनुरोध गरेको छ । सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत सङ्घसंस्थासहित स्थानीयवासी गरी ४०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
रुद्रमती सफाइ अभियानको २६१ हप्तामा रातो पुल क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौं महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहित २०० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।