
काठमाडौं– संसदको हिउँदे अधिवेशनको अन्तिम दिन आइतवार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसहित दलका नेताहरूले समापन मन्तव्य राख्ने कार्यसूची थियो । दिउँसो सवा ३ बजे शुरू भएको बैठकको शुरूमै सभामुख कृष्णबहादुर महराले नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई समय दिए । ओलीले झण्डै पौने घण्टा बोले ।
ओलीले बोलेपछि सभामुख कृष्णबहादुर महराले प्रमुख प्रतिपक्षी दलका उपनेता विजयकुमार गच्छदारलाई बोल्नको लागि समय दिए, १५ मिनेट ।
रोष्ट्रम प्रयोग गरेर गच्छदार बोल्न लागे । उनले भने–‘प्रधानमन्त्रीज्यूले सरकार सदनप्रति जवाफदेही रहेको कुरा गर्नुभयाृे । तर सदनमा प्रश्न उठ्छ, सरकार भाग्छ, सदनप्रति सरकार उत्तरदायी हुन सकेको छैन’ विधेयक जवरजस्ती पारित गर्न मिल्छ ? सत्तापक्षले जिम्मेवारी निर्वाह गर्दा सत्तापक्षले सार्वभौम संसदलाई अपमान गर्न मिल्छ ?
गच्छदारले यति बोल्दै गर्दा १५ मिनेटको समय सकिन थालेपछि सभामुख महराले भने, 'माननीय सदस्य आफ्नो भनाइ छोट्याउनुहोस् । गच्छदारले प्रधानमन्त्रीले बोलेको कुरामा केही जवाफ दिनुपर्ने बताए ।
‘यहाँ म संसदीय दलको नेता त होइन । प्रमुख प्रतिपक्षी दलको नेतालाई पनि समयको पावन्दी हुँदैन संसदीय परम्परामा, प्रधानमन्त्रीले जति पनि बोल्न हुन्छ,’ गच्छदारले भने, ‘प्रतिपक्ष संसदीय दलको नेता विभिन्न कारणबस यहाँ उपस्थित हुन सक्नु भएन । उहाँको तर्फबाट म उपनेताको हैसियमा बोलिरहेको छु । प्रतिपक्षी दलको नेताले पाएको सुविधा उपनताले पाउँदैन, मलाई राम्ररी थाहा छ ।’
गच्छदारले आफू प्रमुख प्रतिपक्षी दलको नेता नभएपनि आफूले धेरै समय पाउनु पर्ने जिकिर भने गरेका थिए । सभामुखलाई पाठ पठाएर उनी फेरि बोल्न थाले । उनी बोल्दै गर्दा सभामुख हाँसिरहेका थिए । गच्छदार २०४८ साल यताका सबै निर्वाचनमा विजयी सांसद हुन् ।
महराले उनलाई समय छोट्याउन आग्रह गरे ।
‘संसदीय मर्यादा, पद्धतीलाई र मूल्य मान्यतालाई मैले राम्रोसँग बुझेको छु । प्रमले केही गहन प्रश्न उठाएर जानुभयो । आरोप लगाए भनेर भन्नुभयो । सम्माननीय सभामुख महोदय, भ्रष्टाचार नियन्त्रण भएको छैन, वाइडवडी कहाँ गयो ?’
उनले थपे, '३३ लाख सुन ( ३३ किलो हुनुपर्ने) बरामद् भयो । ठूलो माछा को हो ? मुलुकको कार्यकारीले बताइदिनु भएको भए हुन्थ्यो । यी माछा फुत्केका छन्, सात-सात समुद्र पार गए भनेको भए सन्तुष्टि हुन्थ्यो ।’
त्यसपछि गच्छदारले सीके राउतको प्रसंग उप्काउँदै भने, ‘उहाँले राम्रो काम गर्नुभएको छ, सीके राउतलाई सम्झौतामा ल्याउनुभयो । यो देशमा अर्को सीके राउत जस्तो मान्छे कोही पनि स्वतन्त्र मधेशको नाममा टाउको उठाउँदैन भनेर ग्यारेन्टी गर्नुभयो । तर त्यसले सार्थकता लिन्छ कि लिँदैन आउने समयले बताउँछ ।’
विप्लव समूहको बारेमा बोल्नै लाग्दा सभामुखले फेरि भने, 'माननीय सदस्य छोट्याउनुस् ।
‘जसरी सीके राउतलाई सुटुक्क गरेर सहमतिमा ल्याउनुभयो, जेलबाट मुक्त गरेर विखण्डनकारीलाई निर्मुल गरेर । त्यसैगरी विप्लवलाई सुटुक्क वार्ता गरेर ल्याउनुपर्थ्यो । प्रधानमन्त्रीले ठूलो भाषण गरेर नियन्त्रण गर्ने कुरा ठीक होइन, वार्ता गरेर सहमति गर्नुपर्यो ।’
विप्लवको कुरा गर्दा गच्छदारले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको माननीय सभामुख भनेर महरालाई स्मरण गराए ।
सभामुख महराले फेरि भने, 'माननीय सदस्य समय सकिन आँट्यो !' तर गच्छदार बोल्न छाडेनन् ।
संघीय संसदलाई प्रभावकारी बनाउन संविधानलाई अझ बढी सार्थक बनाउनको लागि संविधान संशोधनको कुरा उठेको थियो के भयो भनी उनले प्रश्न गरे ।
सभामुखले फेरि समयतर्फ ध्यानाकर्षण गराए– माननीय सदस्य !
गच्छदारले अन्तिममा भनेर बोल्न थाले ।
सभामुखले दुई तीन चोटी ध्यानाकर्षण गर्नुभयो भनेर फेरि बोल्न थाले ।
महराले फेरि भने– माननीय सदस्य समय सिद्धियो !
गच्छदार बोल्न छाडेनन्, ‘सरकारलाई रचनात्मक सहयोग रहन्छ प्रतिपक्षको तर्फबाट गर्छ । दुइतिहाईको सरकार भएपनि सदन भनेको नेपाली जनताको सदन हो, आम नेपाली जनताको संसद हो । यो सार्वभौम संसदलाई मिच्ने काम भयो । संविधानलाई मिच्ने लोकतान्त्रिक पद्धतीलाई मिच्ने काम भयो । स्वतन्त्र न्यायलय र प्रेसमाथि हस्तक्षेप भयो भने कदापि स्वीकार्न सक्दैनौं ।’
सभामुख महराले फेरि ध्यानाकर्षण गराए– माननीय सदस्य समय सिद्धियो !
सभामुखले सात पटक समय सिद्धियो भनेपछि पनि गच्छदारले बोल्न छाडेनन् ।
सरकारलाई तीनवटा विधेयक फिर्ता लिन आग्रह गर्दै भने–‘राष्टिय सुरक्षा परिषद सम्बन्धी विधेयक, संविधान विपरीत भएकोले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको नाममा प्रधानमन्त्रीलाई शक्तिशाली बनाउने विधेयक आएको त्यो विधेयक फिर्ता हुनुपर्यो ।'
उनले थपे, 'तेस्रो कुरा सञ्चार जगतको अधिकारलाई संकुचित, प्रेसलाई नियन्त्रण गर्नको लागि सूचना प्रविधि सम्बन्धी विधेयक फिर्ता हुनुपर्यो ।'
त्यसो नभए नेपाली कांग्रेसको तर्फबाट कठोर कदम चाल्न बाध्य हुने भन्दै गच्छदारले सरकारलाई चेतावनी दिए ।
सभामुखले फेरि भने– माननीय सदस्य अब रोक्दिएँ । समय सिद्धियो, माननीय सदस्य !
यसपटक भने जय नेपाल ! भन्दै गच्छदारले मन्तव्य सके । १५ मिनेट समय पाएका गच्छदारले ‘सभामुखको निर्देशन र सदनको मूल्य मान्यतालाई मिच्न चाहदिनँ’ भन्दा भन्दै झण्डै २७ मिनेट बोले ।