
बर्दिया- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफूले कांग्रेसमा भावनात्मक एकताका लागि अभियान थालेको बताएका छन् ।
सोमवार बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनपछि ठाकुरबाबा नगरपालिकामा कांग्रेस नेता कार्यकर्तासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले मुलुकमा कम्युनिष्टहरू एक भएको अवस्था कांग्रेसमा भावनात्मक एकता नभई नहुने बताए ।
उनले आफूले कांग्रेसमा भावनात्मक एकताको अभियान थालेको भन्दै आम नेता कार्यकर्ताहरूलाई साथ दिन पनि अपिल गरे । उनले भने, 'मुलुक कम्युनिष्टमय भएको छ । यो अवस्थामा कांग्रेसमा भावनात्मक एकता भएन भने लोकतन्त्रमाथि पनि खतरा छ । त्यसैले अब कांग्रेसमा भावनात्मक एकता जरुरी भइसक्यो । मैले त्यही भएर कांग्रेसमा भावनात्मक एकता गराउने अभियान शुरू गरेको हो ।’
महामन्त्री कोइरालाले कम्युनिष्टहरू निरंकुशतातर्फ अगाडि बढेको आरोप लगाए । उनले प्रधानमन्त्रीले सेनालाई आफ्नो मताहतमा राखेर निरंकुशतातर्फ उन्मुख हुन लागेको बताए । कोइरालाले भने, 'राजनीतिबाट मुक्त रहेको नेपाली सेनालाई प्रधानमन्त्री मताहतमा ल्याएर सेनामाथि नियन्त्रण गर्न खोजिँदै छ । यसले मुलुकको लोकतन्त्रमाथि खतरा शुरू भएको छ ।’
उनले सरकारले मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको पनि बताए । उनले नेत्रविक्रम चन्द नेतृत्वको असन्तुष्टिलाई समयमा नै समाधान गर्नुको साटो प्रतिबन्ध लगाएर मुलुकलाई द्वन्द्वमा फसाउन सरकार लागेको बताए ।