
काठमाडौं– सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू धमाधम पक्राउ पर्न थालेका छन् । नेकपाले अपराधिक गतिविधि सञ्चालन गरेर आतंकित बनाएको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले धमाधम उसका नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ ।
यसैक्रममा विप्लव नेकपाका पश्चिम नवलपरासी ईञ्चार्ज सुमन ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । ज्ञवालीलाई सोमवार राति आफ्नै घरबाट पक्राउ गरेको बताइएको छ । त्यस्तै सोमवार रातिनै पूर्वी नवलपरासीबाट प्रहरीले विप्लव नेकपाका जिल्ला सदस्य धनबहादुर मर्दनियालाई पनि पक्राउ गरेको छ ।
यस्तै सोमबार नेकपा निकट बुद्धीजीवि परिषद भेरी कर्णालीका इन्चार्ज धनराज शाहीलाई प्रहरीले पक्रेको थियो । गस्तिमा गएको जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले शाहिलाई खाँडाचक्र नगरपालिकाको दाहाँबाट दिउँसो पक्राउ गरेको हो ।
यसैगरी, नेकपाका दुई नेता मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पार्टीका कार्यवहाक कोशी ब्यूरो संयोजक ओखलढुंगा घर भएका घनश्याम श्रेष्ठ (पुष्कर) र काभ्रे घर भएका कोशी ब्यूरो सदस्य आकाश शर्मा छन् । शुक्रबार राति प्रहरीले नेकपाको मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली सुदर्शन सहित ९ जनालाई काभ्रेबाट पक्राउ गरेको थियो ।