१० असार २०८३, बुधबार

लगानी सम्मेलनमा विदेशीको आकर्षण, सबैभन्दा धेरै चिनियाँ

चैत १२, २०७५
लगानी सम्मेलनमा विदेशीको आकर्षण, सबैभन्दा धेरै चिनियाँ

काठमाडौं। शुक्रबारदेखि काठमाडौंमा सुरु हुने लगानी सम्मेलनमा सबैभन्दा बढी सहभागी चीनको हुने देखिएको छ । सम्मेलनमा स्वदेशी र विदेशी गरी ७ सयको हाराहारीमा सहभागी हुने अनुमान गरिएको छ । ताहाचलस्थित सोल्टी होटलमा हुने सम्मेलनमा ३८ देशबाट लगानीकर्ता आउनेछन् । सम्मेलन हुने दिनसम्म यो संख्यामा परिवर्तन हुन सक्ने लगानी बोर्डले जनाएको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सम्मेलनमा चीनबाट सबैभन्दा धेरै लगानीकर्ता आउने बताए । उनले चीनबाट २०९ जना लगानीकर्ता आउने यसअघि नै बोर्डलाई जानकारी गराइसकेको बताए ।
सम्मेलनमा सरकारका तर्फबाट ५३ र निजी क्षेत्रबाट १८ वटा गरी ७१ वटा प्रस्ताव पेस हुने बताउँदै उनले सरकारको प्राथमिकता यातायात एवं पर्यटन विशेष रहेको र निजी क्षेत्रका तर्फबाट ऊर्जामा बढी प्राथमिकता देखिएको जानकारी गराए । उनले लगानी सम्मेलनका लागि तयार पारिएका ७१ वटै परियोजनाका लागि ३५ खर्ब रुपैयाँ बढीको लागत अनुमान गरिएको बताए ।

बोर्डका अनुसार सम्मेलनमा भारतबाट ११० जना सहभागी हुनेछन् । म्यानमारबाट २८ जनाले सहभागिता जनाउनेछन् । म्यानमारका विदेशमन्त्रीले लगानी सम्मेलनमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसपटक लगानी बोर्डले अघि सारेको परियोजनामा म्यानमारका लगानीकर्ताले लगानीसमेत गर्नेछन् । म्यानमारबाट अहिलेसम्म लगानी आएको छैन ।
जापानबाट २०, दक्षिण कोरियाबाट १५, ओमानबाट १३, अमेरिकाबाट ११, श्रीलंकाबाट १०, क्यानडाबाट ९, बेलायतबाट ९ र मलेसियाबाट ९ जना सहभागी हुनेछन् । यसैगरी, सिंगापुरबाट ९ र अन्य देशबाट ६५ जना सहभागी हुनेछन् । सम्मेलनमा नेपालबाट करिब ४९ जना व्यवसायी लगानीकर्ताका रूपमा सहभागी हुन लागेका छन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्