२२ जेठ २०८३, शुक्रबार

चुनाव जित्नका लागि मोदीले चीन कार्ड खेलेको चिनियाँ पत्रिकाको आरोप

चुनाव जित्नका लागि मोदीले चीन कार्ड खेलेको चिनियाँ पत्रिकाको आरोप

काठमाडौं – लोकसभा चुनाव जित्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भारतीय जनता पार्टीले चीन कार्ड खेलेको आरोप चीनको पत्रिकाले ग्लोबल टाइम्सले लगाएको छ । 

पाकिस्तानसँग विवाद बढाउनु पनि मोदीको लोकप्रियता हासिल गर्ने र मतदाता लोभ्याउने प्रपञ्च भएको अखबारको आरोप छ । 

ग्लोबल टाइम्समा प्रकाशित एक आलेखमा लेखिएको छ, ‘भारतमा चुनाव आउनुभन्दा ठीक अघि भारत र पाकिस्तानबीचको तनाव चरममा पुग्यो । पाकिस्तानसँगको विवादलाई मोदी र भाजपाले चुनावी दाउपेचका रूपमा प्रयोग गरी मतदातालाई लोभ्याउन खोजेको जस्तो देखिन्छ ।’

यसअघि सामान्यतया द्विपक्षीय सम्बन्धलाई चुनावी विषय नबनाइने गरेको लेखमा उल्लिखित छ । लेखमा भनिएको छ, ‘निश्चित रूपमा चीन र भारतबीचको सम्बन्धमा केही समस्या छन् । तर यो युद्धउन्मुख छैन । तैपनि मोदीले चुनावी मुद्दाबाट ध्यान हटाउनका लागि चीन कार्ड प्रयोग गर्न थालेका छन् ।’

‘रोजगारीमा वृद्धि नभएको जस्ता घरेलु समस्याका कारण भाजपाले आलोचना खेपिरहेको छ । भाजपाले कैयौं वाचा पूरा गरेको छैन जसले गर्दा मानिसहरूमा असन्तोष छ । मोदी जस्ता अनुभवी राजनीतिज्ञले यसबेला चीन कार्ड प्रयोग गरेका छन् । उत्तरी भारतमा यो कार्ड चल्न पनि सक्छ र चीनसँगको मतभेदमा त्यो नै मुख्य मोर्चा हो,’  पत्रिकामा लेखिएको छ ।

लेखमा मोदीको लोकप्रियता घटिरहेको दाबी गरिएको छ । त्यसैले गर्दा मोदी भोट पाउने कुनै पनि मौका छोड्दैनन् । चीन कार्ड प्रयोग गर्नुका साथै उनी पाकिस्तानसँगको तनावलाई पनि बढाइरहेका छन् । 

भाजपाले एक निर्धारित लक्ष्यका साथ राष्ट्रवादी भावना जगाइरहेको र आफ्नो कट्टर छविलाई बलियो बनाइरहेको लेखिएको छ । पाकिस्तानसँगको संघर्षमा चीनले इस्लामाबादको पक्ष लिएको भ्रम धेरै भारतीयहरूलाई छ त्यसैले चीन कार्ड खेल्ने यो राम्रो अवसर भएको अखबारमा लेखिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्