
पर्सा- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको मंगलवार स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।
सो अवसरमा उनले उपयोगविहीन अस्थामा रहेका कारखानाका उपकरणहरू जीर्ण हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिए । मन्त्री
यादवले पर्सा जिल्ला अदालत र उच्च अदालतको अस्थायी इजलासका लागि भवनलगायतका पूर्वाधार एकै स्थानमा निर्माण गर्दा न्यायसम्पादन प्रभावकारी हुने भएकाले त्यसकै लागि आफूसहित सर्वोच्च अदालतका न्यायाधीशको टोली जग्गा हेर्न आएको बताए । अहिले कारखाना परिसरमा उच्च अदालत जनकपुरको अस्थायी इजलास सञ्चालनमा रहेका छन् ।
चिनी कारखानाको स्वामित्व रहेका जग्गामध्ये कित्ता नं ११३१ मा रहेको दश बिघा जग्गा अदालतको पूर्वाधार निर्माणका लागि उपयुक्त हुने नहुनेबारे काठमाडौं फर्केपछि यस विषयमा थप छलफल गर्ने उनले जानकारी दिए ।
टोलीमा मन्त्री यादवसहित सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, उच्च अदालत अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश डिल्लीराज आचार्यलगायत रहेका छन् ।