३१ असार २०८३, बुधबार

गर्भवतीलाई सम्मान

गर्भवतीलाई सम्मान

परशुराम- डडेल्धुराको नवदुर्गा गाउँपालिकाले नियमित गर्भ परीक्षण गर्ने महिलालाई सरसफाइ सामग्री वितरण गरी सम्मान गरेको छ । मणिलेक स्वास्थ्यचौकी नवदुर्गाले चार पटक नियमित रूपमा गर्भपरीक्षण गराउने ७० महिलालाई सम्मान गरेको हो । 

गत साउनदेखि हालसम्म नियमित रुपमा स्वास्थ्य संस्थामा पुगेर गर्भ परीक्षण गर्नुका साथै स्वास्थ्य संस्थामै सुत्केरी हुने महिलालाई सरसफाइ सामग्री वितरण गरी सम्मान गरिएको स्वास्थ्यचौकी इञ्चार्ज रमेश तिवारीले जानकारी दिए ।  

गर्भवतीको सरसफाइमा सहयोग पुर्‍याउने उद्देश्यले नवदुर्गा–२ मा रहेको मणिलेक स्वास्थ्यचौकीको सेवाक्षेत्र भित्रका महिलालाई सम्मान गरिएको हो । गर्भवती महिलालाई नियमित गर्भ परीक्षण गराउन प्रेरित गर्ने र सरसफाइमा ध्यान पुर्‍याउन गाउँपालिकाले नियमित गर्भ परीक्षण गराउने महिलालाई सरसफाइ सामग्री वितरण गरेको हो । 

गर्भ रहेको सामान्यतयाः चार महिनादेखि नौ महिनासम्म गर्भ परीक्षण र संस्थागत सुत्केरी गराएका गर्भवतीलाई स्वास्थ्य संस्थाबाट सरसफाइ सामग्री वितरण गरी सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले जानकारी दिए । गर्भवतीलाई नियमित रूपमा स्वास्थ्य संस्थामै आएर परीक्षण गराउने बानीको विकास गर्न उक्त कार्यक्रम गरिएको उनले बताए ।

'गर्भवतीलाई नियमित स्वास्थ्य संस्थामा आएर गर्भ परीक्षण गराउने बानीको विकास गराउने एउटा उद्देश्य हो,' अध्यक्ष विष्टले भने, 'अर्कोतर्फ सरसफाइको कमी हुनबाट बचाइ आमा र बच्चाको स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो दायित्व ठानेर गर्भवतीलाई सम्मान गरेका हौं ।' गाउँपालिकाभित्रका मात्र नभइ अन्य जुनसुकै स्वास्थ्य संस्थामा नियमित गर्भ परीक्षण गराउने अन्य स्थानीय तहका गर्भवतीलाई समेत सम्मान गरिएको छ । स्वास्थ्य शाखाका अनुसार यो आर्थिक वर्षबाट सो कार्यक्रम शुरू भएको हो । 

Photo : Live Science

salt training

कमेन्ट गर्नुहोस्